वैरागीको ‘विविशारा’उपन्यास माथि चितवनमा पनि विमर्श
झापा ३० पुस/कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास`विविशारा´माथि चितवनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे ।
समालोचक उदय अधिकारीले विविशाराले सहरी संस्कृतिले जन्माएका विकृति र विसङ्गतिलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको बताउनुभयाे। उहाँका अनुसार उपन्यासले आधुनिक सहरिया जीवनको देखिने चमकभित्र लुकेका खोक्रोपन,एक्लोपन र नैतिक द्वन्द्वलाई यथार्थपरक ढंगले उजागर गरेको छ। “लेखकले वर्तमान समाजको यथार्थलाई कलात्मक तर गहिरो रूपमा आख्यानमा उतारेका छन्,” अधिकारीले भन्नुभयाे ।
हालको टेम्केमयुँ गाउँपालिका- ६,भोजपुरमा जन्मिएका सशक्त छन्दकवि एवम आख्यानकार छवि वैरागी घिमिरे हाल सुन्दरहरैँचा नगरपालिका- ९,विराटचोक, मोरङमा रहेर सिर्जना कर्ममा क्रियाशील छन् । संस्कृतमा आचार्यसम्मको औपचारिक अध्ययन पूरा गरेका छवि वैरागी घिमिरेको"विविशारा"दोस्रो औपन्यासिक कृति हो ।
रेडियो सन्चारकर्मीका रूपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेका छन् । साधकका रूपमा समेत परिचित उनका दर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन् । उनी स्थानीयदेखि लिएर राष्ट्रियस्तरका विभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।
संसारमा अलौकिक प्रेम अझै मरेको छैन,विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुशीको जीवन पनि छ भन्ने विषयलाई मूल कथ्य बनाइएको "विविशारा" उपन्यास फिनिक्स बुक्स, काठमाडौँले प्रकाशित गरेको हो। उपन्यासले अहिले पाठकको मन जितिरहेको छ।यो उपन्यासको चारैतिर चर्चा परिचर्चा भइरहेको छ। यस पुस्तकको मूल्य ५९९ रुपैया रहेको छ ।