धनगढीमा मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्क विमोचित
झापा, पौष १६ । साहित्यिक पत्रिका मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्क विमोचित भएको छ । सुदूरपश्चिममा उल्लासपूर्वक मनाइने पुसे १५ को अवसर पारेर आज मधुपर्कको पुसको अङ्क धनगढीमा विमोचन गरिएको हो । सुदूरपश्चिम साहित्य समाज धनगढी, डेउडा प्रतिष्ठान धनगढीले आयोजना गरेको एक कार्यक्रममा गोरखापत्र संस्थानको प्रकाशन रहेको सो विशेषाङ्क कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, विशिष्ट अतिथि मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी, साहित्यकार श्रेष्ठप्रिया पत्थर लगायतले संयुक्त रुपमा मधुपर्कको विशेषाङ्क विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थानका महाप्रबन्धक ऐरीले संघीयताको अभ्यास गर्ने प्रयासस्वरुप मधुपर्कको एउटा अङ्क सुदूरपश्चिम र कर्णालीलाई केन्द्रित गरेर प्रकाशन गरेको बताउनुभयो । महाप्रबन्धक ऐरीले नेपालको साहित्यिक लिगेसी बोकेको मधुपर्कले यो विशेषाङ्क निकालेर नेपाली साहित्य आकाशमा मधुपर्कको रहेको उचाइमा एउटा अर्को इतिहास थपेको बताउनुभयो । उहाँले २०२५ सालदेखि सुरु भएको मधुपर्क भूगोल केन्द्रित गरेर पहिलो पटक प्रकाशन भएको र त्यसको सुरुवात पनि सुदूरपश्चिम तथा कर्णालीबाट गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा साहित्यकार श्रेष्ठ प्रिया पत्थरले मधुपर्कमा सुदूरपश्चिमले अपनत्व पाएको बताउँदै यसमा रचना छापिनु भनेको स्तरीय छ भन्ने प्रमाण रहेको बताउनुभयो । उहाँले मधुपर्कलाई आकाशको जुनको संज्ञा दिनुभयो ।
पुस १५ विशेष कार्यक्रमको अवसरमा विभिन्न साहित्यकारहरुको जमघट रहेको थियो । कार्यक्रममा डेउडा, गाउँखाने कथाका साथै कविता वाचन पनि गरिएको थियो । कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले गर्नुभएको थियो ।