देवघाटमा परमानन्द काव्यसरिता सम्पन्न
तनहुँको देवघाटस्थित परमानन्द गुरुकुलम्ले हरेक वर्ष आयोजना गर्दै आएको ‘परमानन्द काव्यसरिता’को १७ औँ शृङ्खला यही पौष २६ गते भव्यताका साथ सम्पन्न भएको छ । गुरुकुलका प्राचार्य सचिदानन्द सरस्वतीको सभाध्यक्षता र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, वरिष्ठ कवि तथा समालोचक प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा साँझको आठ बजेदेखि रातको साढे एक बजेसम्म सञ्चालित उक्त समारोहमा स्वामी ज्ञानानन्द सरस्वती, विवेकानन्द सरस्वती जस्ता विशिष्ट सन्त, महन्त र स्वामीज्यूहरू र देशका ख्यातिप्राप्त कविज्यूहरूका साथै नवकविहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।
ब्रह्मलीन स्वामी परमानन्द गुरुको २९ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना भएको र स्वामी स्वरूपानन्द सरस्वतीज्यूको कविता वाचनबाट शुभारम्भ भएको उक्त कवितामय कार्यक्रममा भरतपुर प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, ललितकला क्याम्पस, काठमाडौँका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेल, चर्चित युवाकविहरू पुरुषोत्तम आचार्य, केशव भट्टराई, उत्तम विचार भेटवाल र मनोज भण्डारीले आआफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो । साथै कविराज खनाल, नवराज पाण्डे, कृष्णप्रसाद पाण्डेय, विपिन ढकाल, सुरभि भट्टराई, विष्णु काफ्ले, सन्दीप भट्टराई, सन्तोष बस्याल, प्रवीण काफ्ले, अङ्कित पाण्डे, प्रकृतिप्रेमी, राधिका लम्साल, चेतराज कँडेल, अनमोल खनाल, नीलकण्ठ लम्साल, प्रमिसा लामिछाने, सङ्गम बस्याल, सङ्गम रायमाझी, एस.आर दुवाडी, रोहन खनाल, किरण भण्डारी, अविनाश पौडेल, प्रदीप कोइराला, प्रसिद्ध घिमिरे, नवीना भट्टराई, निशान रिजाल, सौरभ बस्याल, मुकेश खनाल, आदित्य भण्डारी र चन्द्रकान्त खनाल गरी ३६ जना कविहरूले नेपाली र संस्कृत भाषामा आआफ्ना सशक्त कविता, गीत र गजलहरू प्रस्तुत गर्नुभएको थियो ।
