थाहा छ तर पर्खिरहेछु

अगस्त महिनाको एउटा बिहान
मिरमिर उज्यालो मात्र खसेको थियो धरतीमा
तारा बिलाइसकेकै थिएनन् आकाशमा
कफी सेलाइसकेकै थिएन मुट्ठीमा
तर पनि विश्वास थियो
बिस्तार उज्यालो पोखिदै जानेछ सम्झेरीमा
मेपलका पातहरू,
पहेंलिएर झर्ने बेला भएकै थिएन
आकाशमा बादलले
पानी बोकेर दौडिन थालेकै थिएन
हावाले जमीनबाट धुलो सोहोरेर
आँखामा पोख्न पाएकै थिएन
त्यही विहान
हतारिँदै बाटो लागेको थियौ छाती जोडेर हत्केलाले
गाला मुसारे।
बेलुकै आउने गरी गएकी तिमी
राती पनि आइनौ
भोलि बिहान पनि आइनौ
दिउँसो र साँझ पनि आइनौ
तिमी गएको तीन दिनपछि ठूलो पानी पर्यो
साँझतिर जोडले हावा चल्यो
चुपीका पातका लट्टाहरू पनि
चुँडिउला जसरी हल्लिए ।
रातभरि पनि आकाश धुम्मिइरह्यो
त्यो रात पनि मैले झ्यालबाट
पार्किङतिरै हेरेर उज्यालो बनाएँ ।
अक्टोबर र नोभेम्बरको पारिलो घाममा डेकमा बसेर
न्यानो तापिरहँदा पनि
भित्र- कहाँ चिसै थियो लुगलुग
आकाशमा झलमल्ल घाम
रमाएको दिनमा पनि
मनका उघ्रिएको थिएन बादल ।
जाडो सुरु भयो
दिनदिनै दिनहरू चिसिँदै गए
मैले सोचिरहेँ
यो ठिहीमा तिमी कहाँ हौली?
रूखका हाँगा हाँगाबाट पातहरू झर्दै गए ।
हावाले हल्लाउन छोड्यो
मन बिरक्त्याउने रूखहरू
पानीले भिजाउन छोड्यो
घर वरिपरिको सुकार चौर
हिउँ झर्न लाग्यो
ठिहिरोले कटकटिन लाग्यो हावा
रङ मेटिएको मनले देखिरहन थाल्यो
सुकेका हाँगाहरूमा सेताम्य हिउँ ।
दिनदिनै हिउँ पर्न छोड्यो
दिनदिनै मेपलका रुखमा
पात पलाउन थाले
दिनदिनै पार्कमा नानीहरू खेल्न आउन थाले
दिनदिनै सबै पहिलेकै जस्तो
हुँदै जान थाल्यो ।
सम्झिरहन्छु,
त्यो दिन तिमी
घरबाट निस्केको केहीबेरपछि नै जोडजोडले बजेको थियो
पुलिसको गाड़ी र एम्बुलेन्सको साइरन
आज पनि मेरो कानमा
उसै गरी बजिरहेको छ
एल्डन स्ट्रिटमा
त्यो मुटु छेड्ने दुस्मनी आवाज
हो, त्यसपछि,
अन्तिम पल्ट तिमीलाई भेटेको थिएँ फिनरल हाउसमा
शान्तिले सुतिरहेकी गहिरो निद्रामा
जसरी निदाएकी हुन्थ्यौ
मेरै छातीमा रातरात भरी ।
थाहा छ
तर पर्खिरहेछु आज पनि
ब्रेकफास्टको टेवलमा
लन्च बक्सको झोलामा
डिनरको साँझमा
क्लोजेटका घ्याङ्गरमा
ड्रेसिङ टेवलको ऐनामा
र
वालमार्टको पेमेन्ट लाइनमा ।
२०८०/१२/२५
मनासस भर्जिनिया


