त्रिदिवसीय टीकापुर साहित्य महोत्सव चैत १३ देखि
झापा २५ माघ/टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण यही चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।
टीकापुर साहित्य समाजले शनिबार गरेको पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र समयतालिका सार्वजनिक गरेको हो।
सम्मेलनद्वारा जारी गरिएको विज्ञप्तिअनुसार महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुनेछ। जम्मा २१ बहस सत्रहरू रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन्। हरेक बहस सत्र ११ घण्टाको हुने छ।
महोत्सव भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति,भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ।
नेपालमा विशेषगरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारू समुदायको बाहुल्य छ। ‘थारू भाषा,थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्धेश्य लिएको टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए।
‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन्,’ संयोजक शाहको भनाइ छ।
यसबाहेक महोत्सवमा भाषा,साहित्य,कला, संस्कृति,शिक्षा,समाज,राजनीति,विकासलगायत विधाका अध्येता,विज्ञ,अभियन्ता,शोधार्थी र आम नागरिकहरूबीच छलफल हुने छन्।
महोत्सवको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव रहने छ।
कविता महोत्सवमा प्रथम हुने कवितालाई १५०००, द्वितीयलाई १०००० र तृतीयलाई ५००० रूपियाँ नगद पुरस्कार र प्रमाणपत्र अर्पण गरिने छ। सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने छ। महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ।