तेस्रो बालसाहित्य महोत्सव ललितपुरमा सम्पन्न

दिलिप घिमिरे · माघ १४, २०८२ ११:५२ PM
Cover Image for News

झापा १३माघ/तेस्रो बालसाहित्य महोत्सव मंगलबार ललितपुरमा सम्पन्न भएको छ ।   

नेपाल बालसाहित्य समाज,ललितपुर महानगरपालिका र पाटन संग्रहालयको आयोजनामा माघ ११ गतेदेखि पाटन संग्रहालयमा आयोजना गरिएको महोत्सव सम्पन्न भएको हो ।

 सम्पदा,संस्कृति र बालबालिका विषयको समूह छलफलमा वक्ताहरु पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल,वरिष्ठ बालसाहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र मिस नेवा, नेपाल संवत् ११४५ प्रलिशा शाक्यसँग पाटन संग्रहालयका संग्रहालय अधिकृत सुरेशमान लाखेले बहस गरेका थिए । उक्त बहसमा बालबालिकाको ज्ञानको दायरा फराकिलो बनाउन सम्पदा र संस्कृतिको योगदानबारे चर्चा गरिएको थियो ।
 
महोत्सव अवधिभर बालसाहित्य र बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनीसहित बाल पुस्तक प्रदर्शनीका साथै संग्रहालय प्रदर्शनी समेत गरिएको थियो । 

समूह छलफल बालसाहित्यको बदलिँदो स्वरुपमा पत्रकार सुशीला तामाङले वक्ताहरु वरिष्ठ बालसाहित्य इतिहासकार प्रमोद प्रधान, समालोचक तथा अनुवादक महेश पौड्याल र लेखक अनुराधासँग बहस गरेकी थिइन् । उक्त बहसमा बालसाहित्यको क्षेत्रमा भएका नविनतम् प्रयास र प्रयोगहरुबारे छलफल गरिएको थियो ।

यसैगरी गौरी प्रधानले तयार पारेको कार्यपत्र 'बालसाहित्यमा बाल अधिकार' सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा वरिष्ठ साहित्यकार प्रा. ध्रुव घिमिरेले टिप्पणी गरेका थिए भने पत्रकार यशोदा अधिकारीले कार्यक्रमको सभापतित्व गरेकी थिइन् । 
रंगकर्मी, चलचित्रकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठले बालसाहित्यसँगै बाल रंगमञ्च र बाल चलचित्र विषयको अवधारणा पत्र प्रस्तुत गरेका थिए । 
कोपिला किताबको आयोजनमा वरिष्ठ बालसाहित्यकार विजयराज न्यौपानेको नयाँ बालकाव्य कृति- सारथि दिदी, विराज राईको ऐना र ध्रुब श्रेष्ठको हाम्रो नेपाल, राम्रो नेपाल कृतिको विमोचन गरिएको थियो भने नेपाल बालसाहित्य समाज र पाटन संग्रहालयको संयुक्त प्रयासमा गरिएको कार्यशालाबाट तयार पारिएका पाटनका सम्पदाबारेका कथाहरु पाटनका कथाहरु विमोचन गरिएको थियो ।

ट्यागहरू:
बालसाहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।