तेराखको अलपत्रेका फुलहरू र म
चूडामणि रेग्मी सरको झर्रो नेपाली घर उस बेला हाम्रो (चूडामणि वशिष्ठ र मेरो) पानीपँधेरो हुन्थ्यो । केही न केही बौद्धिक प्राज्ञिक कामको जिम्मेवारी दिन र आफ्ना रचना सार्न लगाउन हामी प्रायः त्यहाँ आमन्त्रित हुथ्यौं र अल्छी लाग्यो भने पनि उहाँको सङ्गत गर्न हामी त्यसै पनि त्यहाँ जाने गथ्र्यौ । उहाँका अक्षर किरमिरे, मरे नबुझिने । मेरा भने अलि सफा र राम्रा पनि (उहाँका भन्दा) । अर्को कुरा उहाँका अक्षर कसैले नबुझ्ने पनि । उहाँको कम्पोजिटर थियो रे उहाँका अक्षर बुझ्ने,त्यसपछिको मान्छे म नै रे । त्यसैले उहाँका रचना प्रायः मैले सारिदिनुपर्थ्यो ।
एक दिन कुन सिलसिलामा हो हामी उहाँकोमा गएका थियौं । त्यहीँ एक जना मैले नचिनेका नौला मान्छे पनि चूमरे सरसँग साहित्यका बारेमा गफ गर्दै थिए । मेरा लागि मात्र अपरिचित ती व्यक्तिसँग चूमरेले मेरो परिचय गराइदिनुभयो र तपाईङ्को काम उहाँबाट हुन सक्छ भन्दै मेरा अक्षर राम्रा, राम्रो समालोचना पनि लेख्ने, मेची क्याम्पसको नेपालीको जल्दो बल्दो प्राध्यापक आदिआदि अनेक फुर्का जोडेर मेरो परिचय दिनुभयो र मलाई उहाँ तेजराज खतिवडा-तेराख भनेर चिनाइदिनु पनि भयो ।
नामले धेरै चिनेको चर्चित मान्छे नै हुनुहुँदोरहेछ उहाँ । नाम सुनिसक्दा नसक्दै उहाँबारे मैले सुनेका कुराको रिल फनन घुम्यो । शान्तिनगर क्षेत्रका जल्दाबल्दा प्रगतिशील साहित्यकार, प्रखर कम्युनिस्ट र विद्रोही मान्छे । म केटाकेटी नै हुँदा एक पटक तेजराज खतिवडाले वनभोजमा दलितलाई खिर पकाउन लगाएर सबैलाई खुवाए अरे भन्ने ठुलै हल्ला चलेको थियो इरौंटार शान्तिनगर क्षेत्रमा । मेरा बा र हजुर्बाबाटै धेरै कुरासँगै “त्यो तेजराज भन्ने त उग्रवादी कम्लिस अरे । कैले सर्खारले लगेर झुन्डाउँछ होला ।” भनेर सुनेको थिएँ । त्यो ‘कम्लिस’ भनेको के हो, त्यतिखेर मलाई थाहापत्तो नभए पनि त्यो तेजराज भन्ने मान्छे खराब रहेछ भन्नेसम्म चाहिँ बुझेको थिएँ । त्यसै घटनाले चर्चित बनेका तेजराजले जातीय भेदभाव मेट्ने प्रयास गरेका हुन् भन्ने म फुच्चेलाई के थाहा ! पछि त्यसै विचारसँग आबद्ध हुन पुगेपछि त हो तेजराज र तेजराजहरू के रहेछन् भन्ने कुरा बुझेको ।
उहाँ नयाँ कविता सङ्ग्रहको प्रकाशन गर्ने सुरमा हुनुहुँदोरहेछ । मैले त्यहीँबाटै उहाँको ‘अलपत्रेका फुलहरू’ कविता सङ्ग्रहका कविताहरू साफी गरिदिने र त्यसको भूमिका पनि लेखिदिने जिम्मेवारी पाएँ । झन्नै एक महिना लगाएर त्यो जिम्मेवारी पूरा गरेपछि उहाँबाट लगभग त्यति वेलाको आधा महिनाको तलब बराबरको रकम प्राप्त भएको थियो मलाई । सायद लेखेर मैले पाएको पहिलो पारिश्रमिक थियो त्यो । चूमरे सरले तोकिदिनुभएको त्यो दरका सम्बन्धमा न मैले केही प्रतिक्रिया जनाएँ न त तेराखले नै कुनै प्रतिवाद गर्नुभयो । दुवैले कुनै टिप्पणी नगरी हृदयले स्विकारेका थियौं त्यो रकम ।
तिसपैंतिस वर्षअघिदेखि लेखिँदै गरेका कविताहरू समेटिएको त्यो कविता सङ्ग्रहका कविताहरू पुस्तकको नाम झैं नै अलपत्रिएकै कविताको सँगालोका रूपमा रहेको थियो । सिकारु अवस्थादेखि परिपक्व अवस्थासम्मै लेखिएका ती कवितामा कुनै कुनै त नराखेको भए हुने भन्ने पनि लागेको हो मलाई । त्यतिखेर विशिष्ट श्रेणीकै छेउछाउको अङ्क ल्याएर एम.ए.गरेको अभिमान पनि थियो मसँग सायद । त्यसैले भूमिकाको अन्त्यमा केही सुझावात्मक टिप्पणी पनि गरेको थिएँ मैले । उहाँले त्यसलाई “उद्बाहुरिव वामन” ठान्नुभएर होला अलि संशोधन पनि गरिदिनुभएछ । जे होस्, उहाँले त्यो राम्रै गर्नुभएछ मेरा लागि, नत्र मलाई अहिले त्यसले लाजमर्दो पाथ्र्यो होला ।
आफ्ना बारेका नकारात्मक कुरा मन नपर्नु मानवीय स्वभावै हो । कमजोरी औंल्याइदिनुपर्यो भन्ने अनि औंल्याउँदा चाहिँ तँलाई पख् भनेर इख राख्ने जस्ता पाखण्डी काम त उहाँले गर्नुभएन । थोरै संशोधनले मलाई पनि राम्रै भयो र उहाँलाई पनि बिगार गरेन ।
जे होस्, म भर्खर लेखनका क्षेत्रमा ताते गर्दै गरेको मान्छेलाई स्थापित भइसकेका प्रगतिशील स्रष्टाले भूमिका लेख्न पत्याउनु र मैले उहाँको कृतिको भूमिका लेख्न पाउनु मेरा लागि ठुलै अभिमानको विषय थियो । त्यसै साइनोले उहाँसँगको मेरो सान्निध्य बाक्लियो पनि । पछिपछि मय विधा लिएर आउनुभयो । यसबारे पनि भेट हुँदा धेरै तर्कवितर्क र छलफल हुने गर्थे । उहाँको टेस्ट ट्युव बेबीबारे त मैले एउटा लामै समालोचना पनि लेखेको छु । मय विधाको बहानामा पनि उहाँले नेपाली साहित्य भण्डारमा निकै कृतिहरू थप्नुभको छ । उहाँले नेपाली साहित्यमा दिनुभएको योगदानको मूल्याङ्कन हुनै बाँकी छ, त्यो होला नै । नेपाली प्रगतिशील साहित्याकाशका एक चम्किला तारा तेराख अब हामीमाझ रहनुभएन तर उहाँले गरेका कर्महरूले हामीलाई सधैं पे्ररित गरिरहने नै छन् । हार्दिक श्रद्धाञ्जलि ।
२०७८ पुस २९
भद्रपुर ८
यो लेख तेराख स्मृतिग्रन्थमा प्रकाशित छ ।
गङ्गा सरकाे भूमिका स्तुत्य छ ।
आदरणीय प्रा डा गंगाप्रसाद अधिकारीज्यूमा बधाई छ यो लेखकोलागि ।तेराख स्मृति ग्रन्थ त उहाँ बारे जानकारी राख्नलाई एउटा सानो जस्केलो मात्र हो। सबै साहित्यकार हरुबाट उहाँको साहित्यिक यात्रा बारे थप चर्चा हुंदै रहे उहाँप्रति न्याय ठान्छु म ।