शहीद मेजर दुर्गा मल्लको पवित्र तिथि चिराङको फुलकुमारीमा मनाइयो बलिदान दिवस
शहीद मेजर दुर्गा मल्लको पवित्र तिथि
चिराङको फुलकुमारीमा मनाइयो बलिदान दिवस
छविलाल निरौला काजलगाउँ,भदौ ९ : बेलायती उपनिवेशको अन्त्य गरी मातृभूमिको स्वतन्त्रताका लागि लड्दै शहीद भएका मेजर दुर्गा मल्लको पुण्यतिथि आज सहिद दिवसका रूपमा मनाइयो ।
असम नेपाली साहित्य सभाको स्वर्ण जयन्तीका अवसरमा असम नेपाली साहित्य सभाको चिराङ जिल्ला समितिले फुलकुमारी प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा सहिद मेजर दुर्गा मल्लको शालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरी सुरु भएको थियो ।
उक्त अवसरमा बिहान १० बजेदेखि बालिका तथा महिलाले विभिन्न प्रकारका तीज नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
समारोहका अवसरमा साहित्यकार दुलबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको साधारण सभाको उद्घाटन आसाम गोर्खा सम्मेलन चिराङ जिल्ला समितिका अध्यक्ष होम शर्माले गरेका थिए । प्रतिष्ठित कवि तथा असम नेपाली साहित्य सभाका उपाध्यक्ष गोविन्द शाण्डिल्य, लेखक तथा सेवानिवृत्त शिक्षक देवप्रसाद अधिकारी, बीटीसीका कार्यकारी सदस्य धनञ्जय बसुमतारी, बीटीआर गोर्खा समाजका अध्यक्ष उत्तम प्रधान, युवा कवयित्री कविता शर्मा, नवनासो साहित्य प्रतिष्ठान झापाका अध्यक्ष गजलकार दिलिप घिमिरे,चुलचुली भाषा, सँस्कृति तथा पर्यटन प्रवर्द्धन समिति इलामका अध्यक्ष साहित्यकार विवश बलिभद्र कोइरालाले शहीद दिवस, भाषा तथा साहित्य दिवसको तात्पर्य विस्तृत रूपमा प्रकाश पार्दै वीर शहीद मेजर दुर्गा मल्लको जीवनयात्राबारे बताउनुभयो। अति भव्य रूपमा आयोजित कार्यक्रममा युवा कवयित्री कविता शर्माको "समयको बारूद" नामक कविता कृतिको गृह विमोचन गरियो। कार्यक्रममा साहित्यकार साहित्यकार विवश बलिभद्र कोइराला गजलकार दिलिप घिमिरेलाई असम नेपाली साहित्य सभा चिराङ जिल्ला समितिले समेत सम्मान गरेको थियो।
जिल्ला समितिका मूल सचिव राजेन शाण्डिल्यले सञ्चालन गरेको उक्त कार्यक्रममा असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिका सचिव छविलाल निरौला, असम भुजेल संघका अध्यक्ष रोहित भुजेल,संगठकहरू वीणा भारती, अर्जुन न्यौपाने सरोज मोहन कौशिक लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरू तथा स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।