संस्मरण 'हिउँको रहर'

गण्डकीपुत्र · मंसिर २९, २०८२ १:३८ PM
Cover Image for News

मोरङको झोराहाट हाम्रो घर । पहाडसङ्गको हाम्रो घरको सम्बन्ध कायम नै थियो । तसर्थ घरमा पहाडतिरका मानिसको आवत-जावत बाक्लो हुन्थ्यो । पहाडबाट कमाइ गर्न दार्जिलिङ, असम,  भुटान तिर जानेहरु र कामबाट पहाड फर्कनेहरुपनि हाम्रो घरमा आएर पहाड तिर लाग्थे । उनीहरुको कुरा हुन्थ्यो । यसपटक पहाडमा धेरै हिउँ पर्यो । भारतबाट आउनेहरु पनि भन्थे । म गएको ठाउँमा हिउँ पर्दोरहेछ । मनमा कौतुहल हुन्थ्यो । हिउँ पर्दा कसरी पर्छ होला ? हिउँ परिसकेपछि कस्तो हुन्छ होला ? मनमा कुरा खेलिरहन्थे । म मधेशमा जन्मिएको हुँ । मैले पहाडको अनुभूत गर्नपाएको बराहक्षेत्र मेलामा जाँदा मात्र हो । सोह्र बर्षको उमेरमा बराहक्षेत्र मेला हेर्न आमाको साथ लागेर गएको थिएँ । बराहक्षेत्रमा मकर नुहाउने भनेर त्यो धार्मिक स्थलमा मानिसहरुको ओइरो लाग्छ । बेलुका हामी बसेको ठाउँमा पहाड तेह्रथुमका मेरा मावली गाउँका मानिसहरु आएका रहेछन् । त्यो समुहमा मेरी आमाकी बालसखा पनि रहिछिन् । ती दुई सखाले धेरै बेर अङ्गालो मारेर रुवाबासी गरे । आमाले आफ्नो ओढ्ने बर्को तिनलाई ओढाइदिनु भयो । अरुले मलाई भान्जा भनेर आत्मियता दर्शाए । रातभरी समूह-समूह बनाएर मानिस नाचगानमा रमाइरहेका देखिन्थे । मेरा गाउँका एकजना दाइ थिए लालबहादुर तामङ्ग । रौसे स्वभावका दाइ गोठाले पाराको दोहोरी गाएर रमाइरहेका थिए । बराहक्षेत्रको मेला हाम्रालागि अत्यन्त उत्साहको बिषय थियो । तराइमा हुने मेला जात्रामात्र देखेका हाम्रालागि यो नाचगान र पहाडीमूलका मानिसको रमाइलो देख्ने पहिलो अवसर पनि थियो ।   त्यसबेला झोराहाटमा गाडी पुगेको थिएन । गाडी चढ्न कि बिराटनगर कि सुनसरी जिल्लाको दुहबी जानू पर्थ्यो । हामी दुहबीबाट गाडी चढेर धरान गयौं । धरान चतरालाइन पुगेर त्यहाँबाट चतरा बजारसम्म जीपमा जानुपर्थ्यो । चतराबाट सप्तकोसीको तिरैतिर ३/४ घन्टा हिडेपछि बराहक्षेत्र मन्दिर पुगिन्थ्यो । कोसीको बगरमा छाप्रा बनाएर पसलहरु राखिएका हुन्थे । बगरबाट मन्दिरसम्म आउन १०४ वटा सिढी चढेर माथी उक्लनु पर्थ्यो । म ती सिँढीमा ८/१० पटक ओहोर-दोहोर गरें रमाइलो लागेर । रातभरि तिनै मावली दाईहरुसङ्ग मेला घुमियो । बिहान आमाले ल अब सप्तकोसीमा नुहाउनु पर्छ भन्नू भो, हामी खोला तिर झर्यौं । माघे संक्रान्ति माघको जाडो र कोसीको चिसो पानी । कसैले मेरो हात समातेर पानीमा २ पटक दुबुल्की लगाइदियो मेरो त होस् गुम भएजस्तो भयो । डिलमा उक्लिएर लुगा लगाएपछि भने न्यानो महशुस गरें । मेरो पहाडी जनजीवनसङ्गको यो पहिलो साक्षात्कार थियो । हामी बिहान फर्कने तयारीमा लाग्यौं । चतारा बजारका बाटामा दायाँबायाँ मुलाको आलो सिन्की बेच्न राखिएका थिए । रातभरिको अनिदो, त्यो सिन्की सालको पातमा किनेर खाएको, निद्रा हराउने स्वादिलो भयो । तर त्यहाँ हिउँ थिएन । हाम्री हजुरआमा जस्लाई हामी आमै भन्थ्यौं । उहिले तेह्रथुममा ठुलै हिउँ परेर घर बाहिर निस्कनै नसक्ने भएको कथा सुनाउनुहुन्थ्यो । मैले बराहक्षेत्र मेलामा गएर पहाड टेकेपनि हिउँपर्दा कस्तो हुन्छ भन्ने जिज्ञासा मनमा लागिरहन्थ्यो । कहिलेकाहीँ मधेशमा असिना पर्थ्यो हामी असिना टिपेर सिसाका बोटलमा राख्थ्यौं । तर त्यो पग्लिहाल्थ्यो । मैले धेरै पटक असिनामा चिनी हालेर खाएको सम्झन्छु । तराईमा साइकलको केरियरमा डब्बा राखेर बरफ बेच्ने आउथे । पाँच पैसामा बरफ पाइन्थ्यो । मलाई हामीले राखेको असिना पग्लिन्थ्यो तर यो बरफ कसरी नपग्लिएको होला भन्ने लाग्थ्यो । म जन्मिएको गाउँमा थारु जातिको बाहुल्यता थियो । मेरा स्कुलदेखि गोठालासम्मका साथी प्रायः थारुहरु नै थिए । मेरो बोलीमा पनि थारुहरुकै बोलिको लवज आउँथ्यो । उनीहरुको नारायणको उच्चारण लरायन हुन्थ्यो म पनि त्यही भन्दोरहेछु । जब म निम्न माध्यमिकको पढाइ सकेर माध्यमिक तहको अध्ययनका लागि उर्लाबारी गएँ । मलाई साथीहरु मधेसको भनेर जिस्क्याउथे । उर्लाबारीको बसाइले मेरो बोल्ने शैलीलाई नेपाली शुद्ध भाषामा बिस्तारै रुपान्तरण  गर्दै लग्यो । नभए कतिपय शब्दको उच्चारण मेरो थारु भाषाकै थियो । पहाडमा बोलिने नेपाली लवज, तल्लो तराइ भेगमा बोलिने नेपाली लवज, पश्चिम नेपालमा बोलिने लवज र भारत दार्जिलिङ्ग र भारतकै आषाम तिर बोलिने नेपाली भाषाको बोलिचालीको लवज फरक हुँदोरहेछ भन्ने कुरा पछि थाहा भयो ।  म जताजता गएपनि हिउँ देख्ने सपना भने साथमै जान्थ्यो । म अमेरिका आउन्जेलसम्म पनि हिउँ परेको बेला कस्तो हुन्छ होला भन्ने लागिरहन्थ्यो । मेरो कवि मित्र गोवर्धन पूजासङ्ग हिउँको कुरा गरेको अलि समय पर्ख न हिउँ पर्न थालेपछि दिक्क मान्छौ भन्थे । सन् 1916 मा म अमेरिकाको भर्मन्ट राज्यमा आएको थिएँ । यो पर्यटकीय राज्य निकै सुन्दर रहेछ । म सेप्टेम्बर महिनाको अन्तिम तिर आएको थिएँ । बाहिर घुमफिर गरियो । नोभेम्बर देखि फाट्टफुट्ट हिउँ परेको कुरा सुन्थे । डिसेम्बर पहिलो दिन हिउँ परेछ राति । बिहान बाहिर हेरेको झसङ्ग भए । बाटो, चउर, रुख पात सब सेताम्मे । बाहिर  निस्किएँ । हिउँमा हिंडे,  हातमा लिएँ फोटो खिचें । हिउँको सपना पूरा भएको थियो । नेपालका साथीहरुसङ्ग गफ लाएँ । मानौ संसारको सारा खुसी मेरो अगाडि पोखिएको छ । त्यो एकदिन परेको हिउँ पग्लिन नभ्याउदै फेरि हिउँ पर्ने । साउनको झरी जस्तो आजपनि झरी भोलिपनि झरी । झरीले घर नै ओसिए जस्तो लाग्ने । हिउँ पर्न थालेपछि त बाहिर घुमफिर गर्नपनि नमिल्ने । बिस्तारै दिक्क लाग्दो हुनेरहेछ । मेरो हिउँ प्रेम सेलाउदै गयो । पछि ह्यारिसबर्गमा बसाईं सरेपछि फ्रेस हाउसमा काम पाएँ । एकदिन यस्तो हिउँ पर्यो । नाप्ने फिता लगाएर नापेको भए ३/४ फिट सम्म हिउँ थुप्रिएको थियो घर बाहिर । अघिल्लो दिन नै सूचना प्रसारण हुँदोरहेछ घरबाट बाहिर ननिस्कनु भनेर । अचेल हिउँ देख्यो कि अत्यास लाग्छ ।  केटाकेटी बेलादेखिको रहर अब बुझ्दा कुनै कुरापनि नपाउन्जेल मात्र रहरको हुनेरहेछ । जब सधै त्यही कुरा देखिन्छ त्यो प्रतिको चाहना आफै मर्दो रहेछ जस्तो लाग्यो । जीवनमा मानिसका अनेक इच्छा चाहना हुन्छन ती कुरा पाइन भनेर दुःखी हुनु ब्यर्थ रहेछ । या त अति चाहना पनि एकप्रकारको मानसिक बिकार नै हो कि झैं लाग्छ । यो मनोभावबाट ब्यूँझन मलाई ५ दशक लाग्यो । तसर्थ जे छ त्यसैमा रमाइलो गर्न सिकौं । रमाएर बाँच्न सिकौं ।

ट्यागहरू:
सहित्य sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।