रण काफ्लेको‘मत्स्यकन्याको मुलुकमा’ नियात्रा कृतिको अंग्रेजी संस्करण विमोचन
झापा ३चैत्र / साहित्यकार रण काफ्लेको नियात्रा सङ्ग्रह ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘इन द कन्ट्री अफ द मत्स्यकन्या’ राजधानीमा एक समारोहबीच विमोचन गरिएको छ।
कृतिको नेपाली संस्करणलाई भारतको सिलिगुडी निवासी प्रदीप रसाइलीले अंग्रेजीमा अनुवाद गरेका हुन् ।
साहित्यकार नन्दु उप्रेतीले कृतिमा पात्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएकाले पुस्तक पठनीय बनेको बताए ।
नेपालको माझी समुदायको जनजीवनमा आधारित विषयवस्तु समेटिएको यस कृतिको अंग्रेजी अनुवादले देश–विदेशका पाठकलाई नेपाली समाज र संस्कृति बुझ्न मद्दत पुग्ने उनको भनाइ थियो।
समाजसेवी चिनीमाया माझीलाई मुख्य पात्र बनाएर उनको जीवन संघर्षमा आधारित उक्त नियात्रा कृतिको अंग्रेजी संस्करण साहित्य पोस्टले प्रकाशन गरेको हो।
कार्यक्रममा साहित्यकार नन्दु उप्रेती, अनुवादक प्रदीप रसाइली, साहित्य पोस्टका प्रधान सम्पादक आश्विनी कोइराला तथा कृतिकी मुख्य पात्र चिनीमाया माझीले मन्तव्य व्यक्त गरेका थिए ।
कृतिकी मुख्य पात्र चिनीमाया माझीको भनाईमा लेखक रण काफ्लेले माझी समुदायलाई केन्द्रमा राखेर कृति तयार पारेकामा समुदायप्रति ठूलो योगदान पुगेको छ । माझी समुदायसँग सम्बन्धित विषयवस्तु समेटिएको कृति विमोचन कार्यक्रममा सहभागी हुन पाउँदा आफू भावुक बनेको उनले उल्लेख गरे ।
अनुवादक प्रदीप रसाइलीले समाजसेवाको क्षेत्रमा चिनीमाया माझीको उल्लेखनीय योगदान भएकाले लेखकले कृतिमा उहाँलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरेको बताए । नियात्रा विधामा आधारित भए पनि कृतिमा माझी समुदायको जीवनशैली र सामाजिक सन्दर्भलाई केन्द्रमा राखिएको उनको भनाइ थियो। कृतिमार्फत नेपालको पर्यटन सम्भावनालाई समेत उजागर गर्ने प्रयास गरिएको उनले उल्लेख गरे ।
साहित्य पोस्टका प्रधान सम्पादक आश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार,संगीतकार, साहित्यानुरागी,पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।