इच्छाशक्ति धैर्यता, क्षमता, इमान्दारिता र सजकताले नै मान्छेलाई सफल बनाउँछ - टीका भट्टराई नेपाल
झापाको सुरुङ्गामा स्थाइ ठेगाना भएपनि पछिल्लो समय गीत लेखनका क्षेत्रमा देशव्यापी चर्चा कमाइरहेकी स्रष्टा टीका भट्टराई नेपाल एक भावुक, इमानदार र कर्मशील स्रष्टा हुन् । २०५६ सालदेखि २०७६ साल सम्म मुद्रण व्यवसाय सफलतापूर्वक सञ्चालन गरेर नेपालकै दोस्रो महिला प्रेस सन्चालकका रुपमा परिचित यी स्रष्टाका ‘आमाको माया’ –शोक काव्य–२०५६, ‘तस्वीर तिम्रो’(गीति एल्वम्–२०७६), प्रीतिपुष्प(गीत संग्रह–२०७७), प्रीति – गीति एल्वम–२०७७), मनका रंगहरु (गीत संग्रह–२०७८), सन्तानको माया (गीति एल्वम–२०७८), अनुभूतिका स्वरहरु (गीत संग्रह–२०७९), मूच्र्छना (गीत संग्रह–२०८०) गीति एल्वमहरु पनि प्रकाशित भइसकेका छन् । यीनै स्रष्टा टीका भट्टराई नेपालसँग लिएको कुराकानी प्रस्तुत छ ।
प्रश्न– नमस्कार
उत्तर– नमस्कार
प्रश्न– सन्चै हुनुहुन्छ?
उत्तर – सन्चै भन्नुपर्यो ।
प्रश्न – आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
उत्तर – खास उल्लेख गर्नुजस्तो केही छैन । गीत लेखन ठप्प भएको छ । घरायसी काममा अलि बढी ब्यस्त छु ।
प्रश्न – तपाईँलाई साहित्य लेखौँजस्तो कहिलेदेखि भयो ?
उत्तर – म ९/१० बर्षको हुँदा भाउजूको माईत गएकी थिएँ । तिहारको बेला थियो कपडाको झोलामा झुन्डाएर राखेको अनौठो चिज भित्र मान्छे बोलिरहेको सुनेँ । नजिकै गएर हेरेँ, डराउदै छोएँ भाउजूको दाजुका छोराछोरीलाई सोधेँ ‘यो को हो? एक्लै बोल्छ त? यो मान्छे कसरी पस्यो? के यो अब निस्किन सक्छ त ?’ उनिहरु मध्ये कसैले ‘यो रेडियो हो’ भन्ने जवाफ दिए ! रेडियोमा तिहारभरि देउसी भैलो लगायत अन्य गीतहरु सुनेर बिताएँ । घरमा पुगेँ अघिल्लो सालको शिलाधान र भूमेपाथिको पैसा खुत्रुकेमा जम्मा गरेकी थिएँ । रेडियो किन्ने सपना बोकेर घर फर्केकी थिएँ । बा–आमालाई सुनाएँ रेडियो किन्ने सल्लाह भयो मैले मेरो खुत्रुके फुटाउनु परेन बुबाले बिहानै पाटाको भारी बोकेर भद्रपुर बजार जानुभयो, साँझ स्कूलबाट फर्किँदा रेडियो बजिरहेको थियो । लाग्छ त्यही रेडियोबाट रेडियो नेपालबाट प्रशारित गीतहरू सुनेर नै मेरो बाल मानसपटलमा साहित्यिक चेतले आाफ्नो स्थान ओगट्दै आएको हुनु पर्छ । २०४६ सालमा आमाले छोडेर जानु भयो । आमाको यादमा झरेका आँसु यसरी खेरजान दिनु हुँदैन भन्ने लाग्यो । करिव १० बर्ष पछि २०५६ सालमा ‘आमाको माया’ शोक काब्य बजारमा ल्याएकी हुँ ।
प्रश्न– साहित्य लेखेर केही पाएँ भन्ने लाग्छ कि लाग्दैन?
उत्तर– लाग्छ, तर साहित्य लेख्छु भनेर लेखिने चिज चै होईन रहेछ । जव अन्तरमनको तरङ्गले भावहरु समेटदै जान्छ तव शब्दहरुका कोपिला कलमको बाटो भएर कापीको पानामा ढकमक्क फक्रिँदा रहेछन । यो सुवर्ण अवसरलाई आत्मसाथ गर्दै मैले पनि म भित्रको मलाई पढने मौका पाएँ, जस्ले जीवनका सारा गारा–अफ्ठ्यारा, गल्छेडाहरू छिचोल्न सहज बनाउँदै जस्तोसुकै अवस्थामा पनि मबाट साहित्यलाई अलग्याउन नसक्ने गरी यात्रा तय गरेको छ ।
प्रश्न – के का लागि लेख्नुहुन्छ ?
उत्तर – मेरो लेखनले समाजलाई केही दियो या दिएन यो त भन्न सक्दिन तर म स्वयम्लाई भने कल्पना गर्न नसकेको उपलब्धि दिएको छ । लाग्छ म आफ्नो आत्मासन्तुष्टिका लागि लेख्छु जून लेखनले मलाई आनन्द (प्राप्त) हुन्छ ।
प्रश्न– मनको अवस्था कस्तो भएको बेलामा गीत फुर्छ ?
उत्तर– मेरा धेरैजसो गीतहरु कारुणिक छन् । केही गीतहरू जन्ति गएको समयमा लेखेको छु भने केही गीतहरू मलामी गएको अवस्थामा पनि लेखेकी छु । भावनात्मक हिसावले आफैलाई आफूले छिचोलेर नियाल्दा पीडाका गीतहरू लेख्न मैले धेरै घोत्लिरहनु पर्दैन ।
प्रश्न– जीवन बाँच्नका लागि उच्च शिक्षा अनिवार्य हो जस्तो लाग्छ । तर तपाईँको जीवनशैली, व्यवहार र सिर्जना क्षमता हेर्दा लाग्छ एक विद्यावारिधी गरेकी महिला हुनुहुन्छ । औपचारिक उच्च शिक्षाका विषयलाई कसरी हेर्नुहुन्छ ?
उत्तर– पढाई धेरैथोक हो तर सबै थोक चाहिँ होईन । सिर्जना गर्नका लागि औपचारिक अध्ययन अनिवार्य हुँदैन तर भाषा र व्याकरणका लागि यसको बुझाई हुनु आवश्यक छ । तर सिर्जना भनेको व्याकरण, भाषा भन्दा विशिष्ट कुरो हो जस्तो लाग्छ । लाग्छ जिन्दगी महासागर हो कोही पढेर तर्छन कोही परेर । म परेर तर्ने यात्री हुँ । मेरो भोगाईले नै मलाई मार्गदर्शन गरेको छ । जीवनमा आईपर्ने उतार–चडावले मलाई बलियो बनाएको छ, जस्तोसुकै आँधीहुरी आए पनि काँध थाप्न सक्छु भन्ने कुरामा बिश्वस्त छु ।
प्रश्न– तपाईँ त एक सरकारी जागिरेकी श्रीमती हुनुहुन्थ्यो । अधिकृतकी श्रीमती । यसैपनि सुखको जीवन बँच्न, महारानी जस्ती बनेर बाँच्न पनि सक्नुहुन्थ्यो । त्यो सुखमय जीवन छोडेर किन एक्लै संघर्ष गर्दै प्रिन्टिङ प्रेस व्यवसाय सुरु गर्नुभयो?
उत्तर – सानैदेखि मेरो स्वभाव अलिक फरक नै थियो । आफ्नालागि आफैँले केही गर्नुपर्छ भन्ने मान्यतालाई शीरमा राखेर अगाडी बढने मान्छे म । अरूले खाँदा आाफ्नो पेट भरिन्न भने झैँ व्यक्ति स्वयम् आ–आफ्नो कर्मले चिनिनु पर्छ भन्ने हो । लाग्छ अरूको आड भरोसामा बाँच्नेहरू जितेर मात्र खुशी हुन्छन । सङघर्ष गर्नेहरू समय परिस्थितिसँग हारेर पनि खुसी हुन्छन । भोलीको उज्यालो चाहने हो भने त आँफू भित्र सम्भावनाहरू खोज्नै पर्छ नि । त्यही गरेकी हुँ मैले पनि ।
प्रश्न– प्रिन्टिङ्ग प्रेस नै किन रोज्नुभयो ?
उत्तर– २०५६ सालको कुरा हो । मैले भद्रपुर रोडको (रिसी) टाईपिङमा मेरो पहिलो पुस्तक आमाको माया शोककाब्य छाप्न दिएकी थिएँ । दिने मिति टुङगो नहुँदा धेरै पटक धाउनु पर्यो । बाहिरबाट चिहाएर पटक पटक हेरेँ महिलाहरूले पनि काम गरेको देखेँ । मलाई त्यो देख्दा आफैँमा आत्माबल बढेर आयो । साँझ पुस्तक नलिई घर फर्किएँ दिउँसोका दृष्यहरू तँछाड मछाड गर्दै मेरो आँखामा आउन थाले । पुस्तक लिन एक हप्ता पछि जानुपर्ने थियो, गएँ । त्यो दिन अनुमति लिएर प्रेस भित्र पसेर राम्रोसँग हेरेँ कल्पना गर्दै सामान लिएर घर फर्किएँ । केही समय नबित्दै मैले कल्पना गरेको सपना बिपना भएर मेरो अगाडी ठिङ्ग उभियो । कामगर्ने तौ–तरिका नपुग्दा सुरूमा धेरै ठुलो घाटा ब्यहोर्नु पर्यो । ब्याज तिर्न पटक–पटक ऋण लिनु पर्ने अवस्थाले मन विक्षिप्त भएको थियो । बाहिरबाट चिहाउँदा देखेजस्तो र मैले सोचेजस्तो रहेन रहेछ प्रेस चलाउन । दिनानुदिनको घाटाबाट क्रमशः मैले धेरै कुरा सिक्ने मौका पाएँ जसले गर्दा मेरो ब्यवसायलाई बिस्तारै बलियो बनाउदै गयो र मेरो बिचलित मानसपटलमा आँट भरिँदै आयो । केहीबर्ष पछिको सहजताले करिव २० बर्षसम्म यसलाई सन्चालन गर्न सकेँ । जून ब्यवसाय महिला एक्लैले सन्चालन गर्न निक्कै कठिन र चुनौतीपूर्ण नै थियो ।
प्रश्न– व्यवसाय गर्दा महिला भएकै कारण अफ्ठ्यारा, समस्याहरु खेप्नु पर्यो कि परेन?
उत्तर– काम गर्दा भन्दापनि अर्डर लिन बाहिर जाँदा या काम दिन अफिसमै आएका (ग्राहक )ले गरेको आनाकानी, महिलाले पनि यो काम पार लाउछन र? सर खोई त? भन्ने सोचाई भएका मान्छेहरूलाई सम्झाई बुझाई गरेर काम लिनसक्नु र ब्यवसायलाई लामो समयसम्म टिकाउनु चानचुने कुरा थिएन । पाईलै पिच्छे चुनौतीका ती धारहरू समयसँगै बिस्तारै बिस्तारै मठारिदै गए । आँसु बनेर बग्ने पीडाहरू बिस्तारै किनारा लाग्दैगए । केही बर्षपछि म हिँड्ने बाटाहरूमा उज्यालो भरिँदै आयो । मैले साँघुरिएर हिँडनुपर्ने गोरेटा र गल्लीहरू फराकिला बन्दै गए जस्का कारण हिँड्न सहज भयो ।
प्रश्न– तपाईँ त नेपालकै पहिलो महिला प्रेस व्यवसायी हुनुहुन्छ । यस्तो इतिहास रच्न पाउनु भएको छ । कतिको गौरव गर्नुहुन्छ आफैँप्रति?
उत्तर– हरेक मान्छेले हरेक क्षेत्रमा आएका सबै चुनौतीहरू झेल्न सक्छन् भन्ने छैन कोही बिचबाटोमै अलपत्र पर्छन भनेँ कोही ठाउँ–ठाउँमा लागेका चोटहरूको आँफै मल्हम–पट्टी बन्ने कोशिस गर्छन् । लाग्छ कमजोर रूखलाई सानोतिनो हुरीले पनि ढलाउँछ नि । ढिलोचाँडो मात्र हो । ईच्छाशक्ति धैर्यता, क्षमता, इमानदारिता र सजकताले नै मान्छेलाइ सफल बनाउँछ । यी कुराको तालमेल मिलाउन सक्दा मनले खोजेको चिज भेट्न सकिने रहेछ । मैलै गरेको कर्मको चारै कुना अध्ययन गर्दा पछुताउने ठाँउ कतै भेट्दिन ।
प्रश्न– तगडा हुनुहुन्छ । अझै पनि व्यवसाय सन्चालन गरिरहँदा हुँदैनथ्यो र किन छोड्नुभयो?
उत्तर– मेरो रूची गीत गुनगुनाउनु र शब्दहरूको अर्थ खोज्नु थियो । २०५६सालमा ‘आमाको माया’ शोक काब्य प्रकाशन गरे लगत्तै प्रेस सन्चालन गरेँ । करिव २०बर्षको अन्तराल ब्यवसायिक भागदौडमै बित्यो जून जरूरी थियो । नानीबाबुहरूको पढाई पूरा भएर उनीहरूले आ–आफ्नो भबिष्य खोज्न सक्ने भएपछि मैले मेरो प्रेस ब्यावसायलाई थाती राखेर आफूले चाहेको र अन्तर्मनको रूचीको बिषयतिर फर्केकी हुँ । हेरौँ आगामी दिनहरूको तय समयले नै गर्नेछ ।
प्रश्न– यो प्रेस व्यवसाय सन्चालन नै पनि त्यसबेलाको एउटा चुनौतिपूर्ण काम हो । सामान्य औपचारिक अध्ययन भएर पनि प्रतिभाले राष्ट्रिय स्तरका उच्च बौद्धिक व्यक्तित्वहरु र सँस्थाहरुबाट सम्मान पाइरहनु भएको छ, आजसम्म कसैले गर्ननसकेको काम पन्ध्र बीस जना स्रष्टाहरुलाई झापाबाट ताप्लेजुङ्गको पाथिभरा पु¥याएर आफ्नो पुस्तकको विमोचन गराउनु भयो । कहिले झापाली महिला स्रष्टाहरुलाई लिएर मेची महाकाली यात्रा गर्ने योजना बनाइरहनु भएको हुन्छ । कसरी यस्ता फरक अनि विशिष्ट खालका काम गर्ने सोच आउँछन् तपाईँलाई?
उत्तर – जुनसुकै क्षेत्रमा पनि आँफूले देखेको र भोगेको भन्दा केही फरक र नयाँ ढङ्गले काम गर्नुपर्छ भन्ने लागिरहन्छ । २०५६ सालमा म पहिलो पटक ताप्लेजुङ् पाथीभरा दर्शन गर्न गएकी थिएँ । मातासँग के मागेँ थाहाछैन तर फर्केर घर आएपछि ‘आमाको माया’ शोक काब्य लेखेँ र प्रकाशन पनि गरेँ । लगत्तै ५६ सालमै प्रेस सन्चालनमा लयाएँ । २०५६ साल मेरो लागि सम्झन लायक साल बन्यो । मलाई यो कुरामा चै ठुलो गर्व लाग्छ कि म एक्लैले मात्र चाहेर नहुने असम्भव थियो (जून ३३५ )मिटर उचाई पाथीभरा मन्दिर परिसरमा पूरै टिम पुग्नु र पुस्तक लोकार्पण गर्नु ! आफ्नो समयको पर्वाह नगरी त्यतिलामो उकालोबाटोमा सहयात्री बनेर हातेमालो गर्दै पुग्नुहुने सम्पूर्णमा हार्दिक नमन । जसका कारण असम्भव पनि सम्भव भयो । बाँकी यी सम्मान पुरस्कारहरू भनेको आफ्नो सतकर्मका फलहरू हुन । ईच्छाशक्ति, आँट, हिम्मत ,मेहनत, लगनशिलता धैर्यता, सजगताको परिणाम र प्रमाणहरू हुन ।
प्रश्न– खासमा समाजमा उदाहरणीय काम गरेर पनि चुपचाप रहने तपाईँका केही उदाहरणीय काम उल्लेख गर्न मन लाग्यो । हाम्रो समाजमा छोरीलाई दाइजो दिने चलन छ । तर तपाईँले छोराको बिहेमा बुहारीबाट, बुहारीको माइतबाट दाइजोको नाममा केही पनि लिन मान्नु भएन भन्ने थाहा पाएका छौँ । बुहारीको माइतबाट पपक्कैपनि दाइजो दिन खोज्नुभएको थियो होला ? किन दाइजो लिन मान्नु भएन ?
उत्तर– एउटा सन्तान जन्माउनका लागि बाबु आमाको कत्रो ठुलो योगदान हुन्छ? एउटी छोरीलाई सक्षम बनाएर मेरो र मेरो परिवारको जिम्मेवारीको काँध थपक्क थाप्न सक्ने बनाएर, आफ्नो मुटुको टुक्रो मलाई सुम्पनु भएको छ, त्यो भन्दा ठुलो कुरो के हुन्छ ? दाइजो भनेको क्षणिक सन्तुष्टिका कुरा मात्रै हुन् । यी सडिएर जान्छन् । मेरी बुहारी दाइजोसँग तुलना गर्न नमिल्ने अमुल्य उपहार हुन् । जसले मेरा घरलाई जीवन्त राख्छ । बुहारी बुझ्न सक्नेछिन् । यही घरलाई मलजल गरेर फलाउने फुलाउने जिम्मेबारी बोध गर्न सक्नेछिन् । यति भएपछि भैहाल्यो नि ।
प्रश्न–. साहित्यिक यात्रामा र गतिविधिहरुमा परिवारको साथ कतिको पाउनु भएको छ ?
उत्तर– पाएकी छु । मेरो परिवार, मेरा छोराछोरी छोराछोरी मात्र होईनन् मेरा गुरू पनि हुन् । मन मिल्ने असल साथी पनि हुन । असल साथीले दिएको सल्लाह सुझाव कहिले गलत हुदैन ।
प्रश्न – आजभोलि चाहिँ के मा व्यस्त हुनुहुन्छ?
उत्तर– अहिले लेखन भन्दा पनि अरू नै बिषयमा अल्झेको छु पुरानो लयमा फर्किन केही समय लाग्ला ।
प्रश्न– जीवनमा अव नगरी नहुने काम के छ ?
उत्तर– छन् नि, जीवनमा धेरै गर्न बाँकी नै छ भर्खरै त आफ्नो जीवन बाँच्ने शिलशिला सुरुवात हँुदैछ ।
प्रश्न– हुन्छ त टीका जी, तपाइँको साह्रै अमूल्य समय दिनुभयो, महत्वपूर्ण कुराहरु सुनाउनु भयो । तपाईँलाई धेरै धन्यवाद ।
उत्तर– हुन्छ, मलाई सम्झेर, यति कुराकानीका लागि समय दिनुभयो हार्दक धन्यवाद छ तपाइँलाई पनि ।