सुरताल म्युजिकल टुर–२०८३’ हिलेमा सम्पन्न
झापा २१ असोज /‘सुरताल म्युजिकल टुर–२०८३’ हिलेमा सम्पन्न गरिएको छ।
धनकुटाको पर्यटकीय नगरी हिले सोमबार मध्यरातसम्म सांगीतिक प्रस्तुतिले तातियो ।
कार्यक्रममा प्रमोद खरेल, प्रकाश सपूत र देवेन्द्र बब्लुले एउटै मञ्चमा प्रस्तुति दिँदा दर्शकहरू मध्यरातसम्म झुमेका थिए ।
हिले फुटबल मैदानमा राति ८ बजेतिर सुरु भएको कार्यक्रममा देवेन्द्र बब्लुले ‘दि फिरन्ते’ ‘मनभरी माया’, ‘व्रत बस्नु एकादशी’, ‘बुढो भइयो’लगायत आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।

राति करिब ११ बजेतिर प्रमोद खरेल मञ्चमा उक्लिएपछि हिलेको माहोल थप तातिएको थियो । ‘झुमा झुम्कावाली’ लगायतका गीतमा दर्शकले कलाकारलाई स्वरमा स्वर मिलाउँदै साथ दिएका थिए । प्रमोद र परम्परा ब्याण्डले राति साढे १२ बजेसम्म प्रस्तुति दिनुभएको थियो ।
त्यसपछि प्रकाश सपूतसहित ‘भाका नेपाल’ ब्याण्ड मञ्चमा उक्लिएको थियो । सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ लगायत आधा दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।
सुरताल इभेन्ट्स तथा हिले ब्याडमिन्टन क्लबको आयोजनामा भएको कार्यक्रम बिहानको राति करिब २ बजेसम्म चलेको थियो ।
आयोजकका अनुसार ‘सुरताल म्युजिकल टुर’ सातै प्रदेशका १३ वटा सहरमा आयोजना हुँदैछ । कार्यक्रमबाट प्राप्त आम्दानीको २० प्रतिशत रकम भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।