स्रष्टा ईरान राईको ‘जिउँदा सपनाहरू’ सार्वजनिक
झापा १८ असोज /स्रष्टा ईरान राईको एघारौँ कृति ‘जिउँदा सपनाहरू’ बाल नाटक सङ्ग्रह शनिबार सार्वजनिक गरिएको छ ।
प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, एकाङ्कीकार ईरानराई, नाटक विषयमै विद्यावारिधि गर्नुभएका डा. गोपीकृष्ण खतिवडा, शिल्पी थिएटर काठमाडौँका निर्देशक घिमिरे युवराज, प्याब्सन मोरङका अध्यक्ष जगत् बस्नेत, नाट्यकर्मी प्रयाग न्यौपाने, पथरी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख चेतन पौडेल जङ्गली, वडाध्यक्ष कृष्णबहादुर गुरुङ र आयोजक अध्यक्ष रमेश निरौलालगायतले एकैसाथ सो कृति सार्वजनिक गर्नुभयो ।
अवसरमा प्रमुख अतिथि नगरप्रमुख राईले नाटकले विद्यार्थीलाई सृजनशील बनाउने भएको र ईरान राईको यो कृति समाज र शिक्षाका लागि उपयोगी रहेको बताउनुभयो ।
सगरमाथा बोर्डिङ स्कुलमा स्रष्टा ईरानराईको संयुक्तसहित पन्ध्रौँ तथा एकल एघारौँ कृतिका रूपमा प्रकाशित बालएकाङ्ग सङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक गरिएको हो।
समीक्षक डा. खतिवडाले नाटकमा सबै एकाङ्की उत्कृष्ट र मञ्चनयोग्य रहेको बताउनु भयो ।
कृतिकार ईरान राईले आफूले २०४२/४३ देखि नै नाटक लेखन, निर्देशन र मञ्चन गर्दै आएको स्मरण गर्दै विशेष गरेर अहिलेका बालबालिकालाई स्क्रिनको कुलतबाट हटाएर सदुपयोगतिर लगाउने प्रयासस्परूप बाल एकाङ्की लेखेको बताउनुभयो।
राईको बाल एकाङ्कीमा ‘कुसुनी’, ‘कपाल’ र ‘नङपालिस’, ‘तामा र टुसा’, ‘सुध्रिने बाचा’, ‘जिउँदा सपनाहरू’, ‘भूमिका’, ‘ट्युसन’, ‘आजको खाना’, ‘म्याग्मादेखि लार्भासम्म’ र ‘डर’ गरी १० ओटा एकाङ्की सङ्ग्रहित छन् । पुस्तकलाई पिडिएफमा पढ्न र अनलाइन भुक्तानीका लागि बेग्लाबेग्लै क्युआर पनि पुस्तकमै समेटिएका छन् । 
कार्यक्रम बेलबारी साहित्य विकास समितिको आयोजनामा समितिका अध्यक्ष निरौलाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य र साहित्यकार जेबी थुलुङको सञ्चालनमा सम्पन्न भएको थियो ।