सालिकलाई साक्षी राखेर गजलवाचन

दिलिप घिमिरे · भदौ २६, २०८१ १:५३ PM
Cover Image for News

सालिकलाई साक्षी राखेर गजलवाचन


काठमाडौं /१५९ औँ मोतीजयन्तीका अवसरमा काठमाडौँमा अलि फरक प्रकृतिको कार्यक्रमको आयोजना गरियो । अनाममण्डली नेपालले भाद्र २५ गते युवाकवि मोतीराम भट्टको जन्मदिनका अवसर पारेर नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा रहेको युवाकवि मोतीरामको प्रतिमा आगाडि उभिएर गजल वाचन कार्यक्रम सम्पन्न गरियो । 
वि.सं. १९२३ भाद्र २५ गते कुशेऔँसीका दिन जन्मेका मोतीरामभट्ट नेपाली साहित्यका उज्ज्वल नक्षत्र हुन् । नेपली भाषामा गजललेखनको सुरुवात गर्ने भट्ट पत्रकारिता‚ समालोचना‚ जीवनी आदि विधाका पनि आदि व्यक्तित्व हुन् ।

वि. सं २०७२ भाद्र २६ मा मोतीराम भट्टको सम्मानमा अनाममण्डलीले  प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा उनकै सालिक निर्माण गरेको थियो । सोही सालिकलाई माल्यार्पण गरी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा मोतीरामकै गजल वाचन गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको सभापतित्वमा भएको उक्त कार्यक्रम महासचिव सरोज घिमिरेले सञ्चालन गर्नुभएको थियो‚ सदस्य ज्ञानु विद्रोहीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।  
गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा गजलकार रवि प्राञ्जल‚ ललिजन रावल‚ धीरेन्द्र प्रेमषिर्‚ रामबहादुर पहाडी‚ अनाममण्डलीका सल्लाहकार प्र.डा. देवी नेपाल‚ नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा‚ सङ्गीतकार बुलु मुकारुङ‚ अनाममण्डलीका संस्थापक अध्यक्ष सुरेश सुवेदी‚ पूर्व अध्यक्ष घनेन्द्र ओझा एवम् गजल अभियन्ता बाबु त्रिपाठी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

संस्थाका पूर्व अध्यक्ष गजलकार घनेन्द्र ओझाले प्रज्ञाप्रतिष्ठानले मोतीरामजस्ता स्रष्टालाई उचित सम्मान गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नुभयो भने प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले अनाममण्डलीले सबैलाई समेटेर मोतीजयन्ती मनाएकामा खुसी व्यक्त गर्नुभएको थियो । नेपाली गजलमा परिष्कारको अभियानको थालनी गर्दै साठीको दशकको प्रारम्भदेखि सक्रिय भएको संस्था अनाममण्डलीले गजल महोत्सव‚ गजल प्रशिक्षण‚ गजलसङ्ग्रह प्रकाशन‚ गजल पत्रिका प्रकाशन‚ गजल समालोचना‚ गजल पुरस्कार अर्पण जस्ता कार्य सम्पन्न गर्दै  आइरहेको छ । यसै क्रममा यस्तो फरक प्रकृतिको गजल वाचन कार्यक्रम पनि आयोजना गरेकामा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले खुशी व्यक्त गर्नुभयोे ।  

photo
प्रभाती किरण‚ सिद्धनारायण आचार्य‚ मनोज खड्का‚ सविता बराल‚ शान्ति शर्मा‚ रविका भण्डारी‚ शारदा सजल‚ रोमा लम्साल‚ आँचल शर्मा‚ अर्जुन अन्योल‚ जीत कार्की‚ रूपक वनवासी‚ गणेश खतिवडालगायत तीस जनाभन्दा बढी गजलकारहरूले आफ्नो गजल वाचन गर्नुभएको उक्त कार्यक्रमले प्रज्ञाप्रतिष्ठानभित्र मोतीजयन्ती पुन: भित्रिएको आभास दिएको थियो ।नारायण निरासी‚ राधा कडेल‚ सच्युतराज उप्रेती‚ त्रिपुरा पौडेल‚ प्रज्वल अधिकारी‚ हेम प्रभास‚ राधा कार्की‚ सन्ध्या पहाडी‚ कुशलनाथ योगी‚ विनोद विम्बित लगायतका साहित्यानुरागीहरुको उपस्थितिले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू