साहित्यकार धरणीप्रसाद गौतमको अभिनन्दन तथा "इलाम बोल्छ" कृति लोकार्पित

खगिन्द्रा खुसी · असोज १३, २०८१ ८:२१ AM
Cover Image for News

२०८१ असोज १२, काठमाडौं । इलाम विकास समाज, काठमाडौंले आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर साहित्यकार धरणीप्रसाद गौतमलाई अभिनन्दन गरेको छ । सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा आयोजना गरिएको सो कार्यक्रममा गौतमको सातौं कवितासङ्ग्रह "इलाम बोल्छ" को लोकार्पण समेत गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा इलाम विकास समाज, काठमाडौंका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व रहेको थियो । कार्यक्रमका विशेष अतिथिहरु नेपाल सरकारका पूर्व सचिव खेमराज नेपाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र समाज कल्याण परिषद्का पूर्व कोषाध्यक्ष लोकनाथ सुवेदीले शुभकामना मन्तव्य राख्दै "इलाम बोल्छ" कवितासङ्ग्रहले इलाम चिनाउन मद्दत पुग्ने विचार व्यक्त गर्दै साहित्यकार गौतमले शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानबारे चर्चा गर्नु भएको थियो ।

फोटो
कार्यक्रममा समालोचक - डा. फणीन्द्रराज निरौलाले लोकार्पित कृति "इलाम बोल्छ"बारे समीक्षा गर्नु भएको थियो भने समालोचक डा. रमेश शुभेच्छुकले कार्यक्रमको सहजीकरण गर्दै साहित्यकार गौतमको व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौला, अभिनन्दित साहित्यकार धरणीप्रसाद गौतमले आ-आफ्नो मन्तव्य राख्नु भएको सो कार्यक्रममा कविहरु प्रज्ञा गौतम, निष्ठा निरौला र बैजयन्ती पोखरेलले लोकार्पित कृतिबाट कविता वाचन गर्नु भएको थियो । प्रमुख अतिथि मोहन सिटौला र कवि मित्र गौतमलाई विशेष सम्मान गरिएको सो कार्यक्रममा दशैं, तिहार, छट पर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा अविरल झरीका वावजुध साहित्यकार र इलामेहरुको बाक्लो उपस्थिति रहेको समाचार काठमाडौँबाट साहित्यकार राधेश्याम लेकालीद्वारा प्राप्त भएको छ ।
फोटो

ट्यागहरू:
सहित्य literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।