साहित्यकार शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण
झापा ४ माघ/दायित्व वाङ्मय प्रतिष्ठान,नेपालले साहित्यकार शङ्कर शाहका तीन कृतिहरू शनिबार लोकार्पण गरेको छ।
कार्यक्रममा साहित्यकार शङ्कर शाहद्वारा रचित 'जेन लहर' हाइकु चर्चा, 'आइना जो देखाउँछ' लेख तथा समीक्षा सँगालो र 'दोबाटोको च्याखुरा' कथा,निबन्ध/लेख सङ्कलन मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष नियात्राकार रामप्रसाद पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रमका आमन्त्रित व्यक्तित्वहरूमा नेपाल सरकारका पूर्व सचिव मदनकुमार भट्टराई, साहित्यकारहरू रमा शर्मा,भागिरथी श्रेष्ठ,समालोचक प्रा.डा.भागवत ढकाल,पूर्व रथीहरू क्षेत्रविक्रम शाह,सुशीलराज कार्की,सदीपबहादुर शाह तथा कलाकार शशिविक्रम शाह रहेका थिए।सदीपबहादुर शाह लोकार्पित कृतिहरूका प्रकाशक पनि हुन्।
प्रतिष्ठानका उपाध्यक्ष,समालोचक प्रा.डा.भागवत ढकालले लोकार्पित तीन कृतिहरूका बारेमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए। टिप्पणीका क्रममा उनले स्रष्टा शाहले हाइकुका बारेमा चर्चा गर्दै फरक पाटो,फरक प्रकृति र फरक प्रवृत्तिका रचना गर्ने स्रष्टा शाह उमेरले ८६ पुगे पनि लेखनमा तन्नेरी रहेको बताए।
कार्यक्रममा स्रष्टा शङ्कर शाहले आफ्नो संक्षिप्त लेखकीय मन्तव्यका क्रममा उनले आफू रहरले साहित्यमा लागेको बताए।आफूलाई गद्य लेखनभन्दा पद्यमा लेख्न सजिलो लाग्ने बताए ।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानलाई विशेष सहयोग पुर्याउने स्रष्टा शङ्कर शाहलाई प्रतिष्ठानका तर्फबाट कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा अतिथि मदनकुमार भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।
बागबजारस्थित हार्दिक होटलमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए।