साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई 'इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ' प्रदान
असोज ७, झापा । नेपाल-बङ्गलादेश मैत्री सङ्घ (Nepal Bangladesh Friendship Association) र पिपुल सार्क लिङ्क फोरम, (People SAARC Link Forum ) को संयुक्त आयोजनामा सम्पन्न बङ्गलादेशका उच्च पदस्थ अधिकारी र नेपालका प्रबुद्ध वर्गहरूको एक विशेष समारोहका बिच 'इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६' प्रदान गरिएको छ । पर्यटन प्रवर्द्धनतर्फ बङ्गलादेशका प्रसिद्ध उद्योगपति रबिउल इस्लाम र साहित्य तथा पत्रकारिता तर्फ नेपालका साहित्यकार एवं पत्रकार ज्योतिकिरणलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।
पुरस्कृत व्यक्तित्व बङ्गलादेशका ख्यातिप्राप्त उद्योगपति एवं सामाजिक अभियान्ता रबिउल इस्लाम 'आरआर ग्रुप' (RR Group) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ। उहाँले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

प्रतिनिधि सभा सदस्य आशा झाको प्रमुख आतिथ्य तथा हरिबहादुर बिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नेपालका तर्फबाट दिनदया रिजाल र बङ्गलादेशका तर्फबाट मो. रबिवल होसेन रबि ले गर्नुभएको थियो।
समारोहमा वरिष्ठ चिकित्सक एवं साहित्यकार डा. भोला रिजाल, इतिहासकार तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, ढाका मेडिकल कलेज र अस्पतालका (फिजियोलोजी) पूर्व विभाग प्रमुख प्रोफेसर डा. रुहुल अमिन, बङ्गलादेश राष्ट्रिवादी कृषक दल केन्द्रीय समितिका सहायक महासचिव एड्भोकेट मो. रबिवल होसेन रबि, बङ्गलादेश कोअपरेटिभ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक मो. नुर ए आलम सिद्दिकी, बङ्गलादेशका वरिष्ठ पत्रकार मो. शमसुद्दोहा प्रिन्स, र पत्रकार तथा सहकारी अभियान्ता मो. अतिकुर रहमान लगायतले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो।
सो अवसरमा बङ्गलादेशका स्वतन्त्रता सेनानी एस.एम. नुरुल इस्लाम, एमडी. मिन्हाज महमुद, एमडी. सेलिम रेजा तथा मार्टिनेट आउटसोर्सिङ ढाकाका प्रबन्ध निर्देशक लायन इन्जिनियर काजी मोनिरुल इस्लाम लगायत बङ्गलादेशी अधिकारीहरू र नेपालका प्रबुद्ध समूहको विशेष उपस्थिति रहेको थियो।