प्याब्सन बराहक्षेत्र,स्कुलमा कविता सिजन-३’को उपाधी सीमा मादेनको पोल्टामा
झापा ३० चैत्र /प्याब्सन बराहक्षेत्र,स्कुलमा कविता सिजन-३’को उपाधि सीमा मादेनको पोल्टामा परेको छ।
उनी जनता माध्यमिक विद्यालय बराहक्षेत्र -३, नडाहाकिको कक्षा-९ मा अध्ययनरत छात्रा हुन्। शनिबार सम्पन्न स्कुलमा कविताको फाइनलमा आफ्ना नौं प्रतिष्पर्धीलाई उछिन्दै मादेनले सो उपाधी चुमेकी हुन् ।
कार्यक्रममा उपविजेता,तृतीय र सान्त्वना क्रमशः युनिशा देउजा(राजाबास इङ्लिस बोर्डिङ स्कुल), इनुष्का गौतम(बराहाराइजिङ इङ्लिस स्कुल) र प्रकृति यादव (मोहन मावि) बन्न सफल भए ।
स्वर्णिम साहित्य समाज,बराहक्षेत्र -३ सुनसरीद्वारा आयोजना हुने सो कार्यक्रम विगत ३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ ।
मदन पुरस्कार विजेता साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वर्णिम साहित्य समाजले आफ्ना विविध कविता प्रतियोगितामा पुरस्कृत कविहरुलाई सम्मानसमेत गरेको छ।पुर्वेली साहित्यिक मञ्चद्वारा आयोजित कोसी प्रदेशस्तरीय कविता प्रतियोगितामा पुरस्कृत मिलन नायक र कवि विमल स्मृति राष्ट्रिय कविता महोत्सव -२०८२ मा पुरस्कृत कवि दीपा मग्रातीलाई दोसल्ला ओढाउदै सम्मानपत्र र नगदसहित सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि डा. लम्सालले कविता लेखन हतारको यात्रा नभएको बताए।उनले थपे, “हामी जति अनुशासित भैयो ? जति अग्रजहरुप्रति समर्पित भैयो उति लेखनमा परिपक्वता आउँछ।आजसम्म तपाईंले धेरै सहयोग गर्नेहरुलाई थ्याङ्क यु भन्नुभएको छ तर तपाईंले आफुलाई जन्माउने आमालाई कहिले भित्री मनबाट थ्याङ्क यु भन्नुभएको छ ? पक्कै छैन आज घर गएर ‘थ्याङ्क यु’ आमा भन्नुस् त।तपाईंको शक्तिशाली कविता लेखन त्यहीँबाट सुरु हुन्छ ।”
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार,नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य रामप्रसाद खरेल,बराहक्षेत्र नगर शिक्षा शाखा प्रमुख उत्तम भारती,प्याबसन बराहक्षेत्रका अध्यक्ष खेमराज राई,वडाअध्यक्षहरु रोहित काफ्ले,कपिल आचार्य,बराहक्षेत्रका अग्रज कवि प्रल्हाद पहरेदार, प्राध्यापक रमेश काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष शरणकुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव सविता फागो चोङबाङले सहजीकरण गरेकी थिइन्, यस्तै कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष लक्ष्मण कटुवालले राखेकी थिइन् ।