‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ इलाममा अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना हुने
झापा, चैत १२ गते । इलाममा ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना हुने भएको छ । इलाम नगरपालिकास्थित नगर साहित्य तथा कला प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, हाङयुग जुनिता फाउन्डेसन लगायतको सहकार्यमा हुन गइरहेको यो महोत्सव पाँचौ संस्करण हो । आगामी बैशाख १८/१९ मा सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको सहभागिता रहने जनाइएको छ । भारतका सिक्किम, दार्जिलिङ र पटना लगायत क्षेत्रबाट साहित्यकार सहभागी हुने निश्चित भएको नगर साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभएको छ ।
विसं २००९ सालमा इलामको करफोकामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि बालकृष्ण सम, लेखनाथ पौड्याल, धरणीधर कोइरालालगायतका साहित्यकाहरु समिलित सम्मेलन कै दिनबाट अहिले सम्मका साहित्य सम्मेलन र इलाम साहित्य महोत्सव हुँदै आएको अध्यक्ष थाम्सुहाङको भनाइ छ ।
यसपटकको महोत्सवमा साहित्यकार बैरागी काइँलालाई इलाममा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको जानकारी समेत गराइएको छ । यस्तै हाङयुुग जुुनिता फाउण्डेसनद्वारा स्थापित ५० हजार नगद राशीको पुरस्कार वितरण, राधिका नेम्वाङ देवान स्मृति पुरस्कार र अन्य विभिन्न पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष थाम्सुहाङले बताउनुभयो ।