प्रेम कथामा आधारित ‘मालती मङ्गले’ बैशाख २५ देखि देशभर प्रदर्शनमा

दिलिप घिमिरे · वैशाख ९, २०८३ २:३२ PM
Cover Image for News

झापा ९ बैशाख/प्रेम कथामा आधारित नेपाली चलचित्र ´मालती मंगले`आगामी बैशाख २५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ। 
प्रेम,भावना र सम्बन्धका विविध आयाम समेटिएको यस चलचित्रले दर्शकमाझ विशेष आकर्षण पैदा गर्ने अपेक्षा निर्माण टिमले गरेको छ। चलचित्रमा प्रेमसँगै आउने उतारचढाव,त्याग,समर्पण र संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ,जसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने विश्वास गरिएको छ।
 नेपाली सुगम संगीतका शिखर व्यक्तित्व गायक रामकृष्ण ढकाल झण्डै २५ वर्षपछि फिल्म क्षेत्रमा फर्किएका छन्। झण्डै साढे तीन दशक लामो सांगीतिक यात्रा पार गरेका ढकाल यसपटक अभिनेता नभई निर्माताको नयाँ भूमिकामा यस चलचित्रबाट प्रस्तुत हुन लागेका हुन्। 

निर्माण पक्षका अनुसार कथा सरल भए पनि प्रस्तुति सशक्त बनाइएको छ। पात्रहरूको जीवनशैली,सम्बन्ध र परिस्थितिजन्य द्वन्द्वलाई यथार्थपरक ढंगले चित्रण गरिएको जनाइएको छ। साथै दृश्य,संवाद र सङ्गीतले कथालाई अझ प्रभावशाली बनाएको उल्लेख गरिएको छ।

प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको प्रचारप्रसार तीव्र पारिएको छ।देशभरका प्रमुख सिनेमा हलहरूमा एकैसाथ प्रदर्शन गर्ने तयारी पूरा भइसकेको निर्माण टिमले जनाएको छ।

चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्। विजय,वर्षा र मेक्सम मुख्य भूमिकामा देखिने यस चलचित्रमा नरिन थापा, मान्सु सापकोटा,प्रकाश घिमिरे,सरिता गिरी,सुष्मा निरौला,सुनिल तामाङ,उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती,दिनेश शाही,रिजन परियार, तारा शर्मा,गीताश्री,राज पङ्गेनी,सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ। 
गायक ढकालले यस फिल्मलाई ‘म्युजिकल लभस्टोरी’ का रूपमा व्याख्या गरेका छन्। फिल्ममा सेन्टिमेन्टल मेलोडी, डान्सिङ नम्बर र भजन गरी विभिन्न विधाका गीतहरू समावेश छन्, जसमा ढकालकै स्वर सुन्न सकिनेछ।
मनोरञ्जनसँगै प्रेमको गहिरो सन्देश दिन सफल हुने विश्वास गरिएको मालती मंगलेले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

ट्यागहरू:
चलचित्र #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।