मिरिकमा पहिलो चोटि"महफिल गजल" कार्यक्रम सम्पन्न
झापा ५ असोज /दार्जिलिङ जर्नल पव्लिकेशन मिरिकको आयोजनामा पहिलो "मिरिक महफिल गजल" कार्यक्रम आइतबार सम्पन्न गरिएको छ।
नेपाली साहित्यको गजल विधामा सम्पन्न यस कार्यक्रममा गजल वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो । यस कार्यक्रममा गजल वाचनमा पूर्वी नेपालकी सुपरिचित गजलकार लीला अनमोलको एकल गजल वाचन रहेको थियो भने गजल गायनमा खर्साङका गायक तथा संगीतकार महेश्वर लामाको एकल प्रस्तुति रहेको थियो ।
सिक्किम विश्व विद्यालयकी नेपाली विभागका प्रमुख डा.कविता लामाको प्रमुख आतिथ्य तथा साहित्यकार राजबहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियोे ।
प्रमुख अतिथि लामाले ´मिरिकमा पहिलो पटक गजल वाचन तथा गायनको कार्यक्रमको संयोजन गर्न सफल दार्जिलिङ जर्नल पव्लिकेशनका अध्यक्ष देवीलाल प्रधानको प्रसंशा गरिन्।जस्ले आफ्नै घरभित्रै साङ्गितिक कलाकार हुदाहुदै पनि अरुकै निम्ति मञ्च तयार गरिदिनु चानचुने कुरा नरहेको लामाको भनाइ थियो ।
कार्यक्रममा कवि लिला अनमोलको ´अन्तिम कुमारी रात´ कविता सङ्ग्रहको अन्तर्राष्ट्रियस्तरमा विमोचन तथा कृति समीक्षा गरिएको थियो ।कृतिमाथि समीक्षात्मक टिप्पणी शक्तिशाली स्रष्टा पवित्रा लामाले गरेकी थिइन् ।

मिरिकमा यसअघि विभिन्न सङ्घ,संस्थाहरुले साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्दै आए पनि गजल विधामै केन्द्रित भएर वाचन र गायनलाई एउटै मञ्चमा प्रस्तुत गरिएको यो कार्यक्रम ऐतिहासिक भएको आयोजकको दाबी छ। यही विशिष्टताका कारण कार्यक्रमको नाम ‘महफिल गजल’ राखिएको जनाइएको छ।
कार्यक्रममा गजलगो लिला अनमोल,गायक महेश्वर लामा,साहित्य चौतारी झापा नेपालका संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठ र नेपाली गजलका हस्ति गजलकार विवश बलिभद्र कोइरालालाई सम्मान समेत गरिएको थियोे ।

सम्मानित स्रष्टाका तर्फबाट मन्तव्य राख्दै साहित्य चौतारी झापाकाका अध्यक्ष श्रेष्ठले यो कार्यक्रमले भाषा,साहित्य ,कला र संस्कृतिलाई सिमानाले नछेक्ने बरु दुई देशबीचको सम्बन्ध सुमधुर र बिस्तार हुने बताउदै विगत लामो समयदेखि देवीलाल प्रधानले साहित्य सेतुको रुपमा उत्कृष्ट कार्य गरिरहे प्रति आफू आभारी रहेको बताए ।
कार्यकमलाई सफल बनाउन साहित्यकारहरु डाक्टर कमला तामाङ,साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेम्बाङ,महासचिव गौरव श्रेष्ठ,देवेन्द्र प्रसाईं, भरत प्रसाईं, देवका सुब्बा खवास,गणेश भट्टराई डाक्टर शुकराज दियाली,अमर रुम्दाली,एस.बि गजमेर,कैलाश खवास,कविर बस्नेत,दिलिप घिमिरे ,वरिष्ठ गायक तथा संगीतकार जीवन अधिकारी,राधिका प्रधान, अनुपमा प्रधान लगायतको उपस्थिति रहेको थियो।
मिरिकको कृष्णनगरमा अवस्थित जगजीत होटलको प्रेक्षागृहमा भएको कार्यक्रमको सहजीकरण भने नेपालका चर्चित गजलकार विवश बलिभद्र कोइराला र मिरिकका विनोद खातीले गरेका थिए।

