पोखरामा संयुक्त कृति ‘दामली अक्षर’ लोकार्पण
झापा ३फागुन /शब्दालय पोखराको शुभारम्भसँगै संयुक्त कृति ‘दामली अक्षर’ शनिबार लोकार्पण गरिएको छ।
प्रणय दिवसको अवसर पारेर आयोजित कार्यक्रममा कृतिका स्रष्टा लक्ष्मण थापा, डा ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमशः मैया थापा,रीता अधिकारी ऋतु,शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा बिम्बकवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यबारे चर्चा गर्दै ‘दामली अक्षर’को सफलताको शुभकामना व्यक्त गरे।
साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै यस कृतिले मुक्तक साहित्य र समग्र काव्य क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।
साहित्यकार सरुभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे प्रकाश पार्दै ‘दामली अक्षर’ र शब्दालय पोखराको सफलताको कामना गरे।
मानवका माया,प्रेम,इच्छा,आकांक्षा,आशंका र अनुभूति अभिव्यक्त गर्न अक्षर र शब्दको जन्म भएको उल्लेख गर्दै ‘दामली अक्षर’ ती संवेदनाहरूको समष्टिगत अभिव्यक्ति भएको वक्ताहरूले धारणा राखे।