नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय लोकनाट्य महोत्सव–२०८३ का लागि मौलिक लोकनाटकको पाण्डुलिपि आह्वान
झापा, चैत ११ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय लोकनाट्य महोत्सव–२०८३ का लागि मौलिक लोकनाटकको पाण्डुलिपि आह्वान गरेको छ ।
प्रतिष्ठानका सदस्यसचिव कुस्मा महराका अनुसार प्रतिष्ठानको नाट्य विभागले आयोजना गर्ने राष्ट्रिय लोकनाट्य महोत्सव–२०८३ मा सहभागिताका लागि अप्रकाशित मौलिक र सांस्कृतिक रूपमा प्रामाणिक लोकनाटक हुनुपर्ने छ । यसरी प्राप्त नाटकमध्ये प्रत्येक प्रदेशबाट एक/एक लोकनाटक छनोट गरिने जनाइएको छ । यस्ता नाटक २०८२ चैत १६ गतेभित्र प्रतिष्ठानको मेलमार्फत पठाउन सकिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवमा पठाइने नाटक नेपाली समाजका लोकजीवन, परम्परा, मिथक, सांस्कृतिक तत्व समेटिएको मौलिक र अप्रकाशित हुनुपर्ने जनाइएको छ । यस्ता नाटक नेपाली वा मातृभाषामा पठाउन सकिने भए पनि मातृभाषाका नाटक भए नेपालीमा रूपान्तरण गरिएको हुनुपर्नेसमेत विज्ञिप्तिमा उल्लेख छ ।