दार्जीलिङमा साहित्यकार पारिजातको सालिक स्थपना गरिने
३१ असोज, झापा । पारिजातको बाल्यकालसँग जोडिएको दार्जीलिङमा सालिक स्थापना हुने भएपछि साहित्यिक वृत्तमा उत्साह छाएको छ ।
नेपाली साहित्यकी प्रख्यात साहित्यकार तथा मदन पुरस्कार विजेता पारिजातको सालिक दार्जीलिङमा स्थापना गरिने भएको छ। सालिक निर्माण सम्पन्न भइसकेको र छिट्टै स्थापना गरिने जानकारी प्राप्त भएको छ। स्थानीय बीजीपीएम प्रमुख तथा पूर्व जीटीए कार्यपाल अनित थापाको लगानीमा मूर्तिकार अमीर सुन्दासले निर्माण गरेको सालिक स्थापनाका लागि सम्बन्धित समितिले तयारी गरिरहेको जनाइएको छ।
नेपाली साहित्यमा विद्रोही चेतना, नारी अस्तित्व, मानवीय संवेदना र सामाजिक विसङ्गतिका विषयलाई सशक्त रूपमा अभिव्यक्त गर्ने पारिजातको सालिक स्थापना हुनुलाई नेपाली भाषा, साहित्य र सांस्कृतिक इतिहाससँग जोडिएको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
वि.सं. १९९४ साल फागुन २६ गते दार्जीलिङमा जन्मिएकी पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो। नेपाली साहित्यमा ‘पारिजात’ नामबाट परिचित उहाँले आफ्नो विशिष्ट लेखनशैली, विद्रोही विचार र गहिरो मानवीय दृष्टिका माध्यमबाट नेपाली साहित्यलाई समृद्ध बनाउनुभएको छ। उहाँको निधन २०५० साल वैशाख ५ गते भएको थियो।
पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ ले वि.सं. २०२२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। यस कृतिले नेपाली उपन्यास साहित्यमा नयाँ वैचारिक र कलात्मक आयाम थपेको मानिन्छ। उहाँका साहित्यिक कृतिमा व्यक्तिको अस्तित्वबोध, जीवनप्रतिको वितृष्णा, सामाजिक यथार्थ, नारी चेतना र विद्रोही मनोविज्ञानका विविध पक्ष सशक्त रूपमा प्रस्तुत भएका छन्। उपन्यासका अतिरिक्त कथा, कविता, निबन्ध तथा अन्य साहित्यिक विधामा समेत उहाँको उल्लेखनीय योगदान रहेको छ।
पारिजातको बाल्यावस्था दार्जीलिङमा बितेको र स्थानीय लिङ्गिया चियाबारीसँग उहाँको पारिवारिक सम्बन्ध रहेको बताइन्छ। लेखक, साहित्यकार तथा पारिजातमाथि अनुसन्धान गर्ने केही अध्येताहरूले लिङ्गिया चियाबारीलाई उहाँको जन्मथलोका रूपमा उल्लेख गर्दै आएका छन्। उपलब्ध स्थानीय विवरणअनुसार उहाँका पिता त्यस चियाबारीमा कम्पाउण्डरका रूपमा कार्यरत रहनुभएको थियो। त्यहाँको सामाजिक परिवेश, पारिवारिक जीवन र तत्कालीन परिस्थितिसँग जोडिएका विभिन्न प्रसङ्ग आज पनि पारिजातको जीवनसँग सम्बन्धित ऐतिहासिक स्मृतिका रूपमा चर्चा गरिन्छन्।
स्थानीय विवरणअनुसार पारिजात र उहाँको परिवारले प्रयोग गरेको घरसमेत अहिले यथावत् रहेको बताइन्छ। यसले दार्जीलिङ र पारिजातबीचको ऐतिहासिक तथा भावनात्मक सम्बन्धलाई थप महत्त्व प्रदान गरेको छ।
साहित्यकार पारिजात केवल एउटा व्यक्तिको नाम मात्र नभई नेपाली साहित्यमा स्थापित स्वतन्त्र चिन्तन, प्रतिरोधी चेतना र मानवीय संवेदनाको सशक्त प्रतीक हुनुहुन्छ। उहाँका रचनाले समय, समाज र व्यक्तिको अन्तर्द्वन्द्वलाई गहिराइका साथ प्रस्तुत गर्दै आएका छन्। विशेषतः महिलाको अस्तित्व, सामाजिक असमानता र स्थापित मान्यतामाथि प्रश्न उठाउने उहाँको लेखन आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।
दार्जीलिङमा पारिजातको सालिक स्थापना भएपछि उहाँको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन, नेपाली साहित्यको इतिहासप्रति चासो बढाउन र यस क्षेत्रको साहित्यिक पर्यटन प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। सालिकसँगै उहाँको जीवन, साहित्यिक योगदान र दार्जीलिङसँगको सम्बन्ध समेटिएको परिचयात्मक सामग्रीसमेत राख्न सके यसले भावी पुस्ताका लागि उपयोगी साहित्यिक तथा सांस्कृतिक स्मारकको स्वरूप लिन सक्नेछ।
विशेष सुत्रबाट थाहा पाइयो छ।