निबन्ध - निर्मला
कपालको सानो जुरो बनाएर टुसुक्क खोपा कतले अड्काएर,रातो सेतो बुट्टे कुर्ता सुरुवाल,रातो सल,निधारमा सानो रातो टिका रातै लिपस्टिक लगाएर, हातमा पर्स हल्लाउँदै चिटिक्क परेर निस्केर हिँड्ने उनलाई म मेरो भान्सा घरको झ्यालबाट सधैं देख्ने गर्छु । लगभग बिहानको सात बजेको आसपासमा सधैँ देखिरहने हुनाले यो समयमा मेरो मनले उनलाई खोज्न पनि थालेको छ । उनी आइन् की भनेर मेरा आँखा उनी हिड्ने बाटातिर जाने गर्छन् । बिहान बेलुकाको खाना बनाउनको निम्ति म मेरो भान्सा घरमा सधैं हुनैपर्छ। म भान्सा घरमा नहुनुपर्ने निश्चित अवस्थाहरु छन् । ति खास अवस्था बाहेक विवाह भएकी स्वास्नी मान्छे भान्सामा नहुनु भनेको आश्चर्य र चासोको विषय हुन्छ। यतिबेला म हाम्रै गाउँघरको परिवेशको कुरा गरिरहेको छु । मैले म भनेर भनिरहे पनि तमाम हाम्रो परिवेश नै बोलिरहेकी छु । हाम्रै परिवेशको कुरा गरिरहेकी छु ।
मानिलिनुस घरमा कोही नव आगन्तुक आयो र उसले भान्साघरतिर स्वास्नी मान्छे देखेन भने आगन्तुकका मनमा कौतुहलता जाग्न सुरु हुन्छ यो घरकी स्वास्ने मान्छे नछुने भएकी या पर सरेकी छ या माइत कतै गएकै हुनुपर्छ अथवा सानसानै भए पनि कुनै देखिने खालको बिमार हुनुपर्छ । नत्र त उसको उपस्थिति भान्सामा नै हुनुपर्ने हो ।
एकदिन फोन आयो घरमा कसैको । आमा (सासुलाई) सोधे कसैले कहाँ हुनुहुन्छ ? प्रतिउत्तर थियो “भान्सामा”। अनि के गर्दै हुनुहुन्छ? “खाना पकाउँदैछु” अनि बुहारी छैन र ? कि हुँदैन उसले ? यस्तै सोधेथे फोनमा कसैले । सोधाइले यही झलकाउँदैथ्यो भान्सा घरमा बुहारी बाहेक अरु पस्न हुँदैन ।
म सुरुको कुरा फेरि जोड्छु । यसरी बिहान चिटिक्क परेर हातमा पर्स हल्लाउँदै हिँड्ने निर्मला हुन् । ४०-४५ वर्षकी उनी आफ्नो व्यवसाय गर्छिन् । चारजनाको परिवार राम्रोसँग धानेको हुनुपर्छ त्यो व्यवसायले । यसो हेर्दा त्यस्तै त्यस्तै लाग्छ । यसो भेट्दा निर्मलासँग बोलिन्छ । लिनु दिनु केही पनि छैन । कुनै आसक्ति पनि छैन कुनै अनादर भन्ने पनि कुरा छैनन् । हुन्छन् सम्बन्धहरू कतिपय रिसराग, द्वेष, आनन्द, दुःख बिनाका । ठ्याक्कै त्यस्तै भेट्दा बोल्नुपर्ने । अरु कुनै सम्बन्ध छैन भन्दा पनि भयो । अझै यसो भनौं भेट्दा उनलाई मैले नै बोलाउँछु उनी जवाफ मात्रै फर्काउँछिन् प्राय: जसमा मलाई कुनै दुःख पनि छैन ।
आफ्नो मानो खाएर पनि मलाई चासो रह्यो निर्मलाको । यसरी बिहान कसरी छोडेर हिँड्छन् घर ? अनि भान्सा घरको हालत के भो होला त? के भान्साघरबाट मुक्ति पाइन् त यिनले? पाइन् भने त हाम्रो सामाजिक संरचना भन्दा बेगल परिस्थितिको प्राप्त गरिन् । त के त त्यो बेग्लै परिस्थितिबाट यिनै सन्तुष्ट छिन् त? कि भित्रभित्रै छटपटिएकी छिन् यिनी भान्साघर सम्झेर ? ढुक्क भएकी छिन् भने त ठिकै छ ।
सिस्टम छैन देशमा भनेर विदेशिनेको लर्को छ ।अब सिस्टम त त्यस्तै हो । मैले ७५ सालमा सुरु गरेको दुई वर्षे कोर्स ट्रान्सक्रिप्ट यसपालि झिकें ८१ सालमा जसमा एक वर्ष चाहिँ मेरै कारणले हो ढिलो भाको अन्यथामा निर्दोष छु ।
खुरुखुरु गर्दा पनि साल गन्दा त सात वर्ष पो भएछ । आजको भोलि नतिजा खोज्ने युवा जमातमा यति विघ्न धैर्यता कसरी आउनु ? किन पनि पो आउनु ?उमेर घर्कदै जान्छ विचार मर्न थाल्छ । निराशाले छोप्छ। आक्रोश बढ्न सुरु हुन्छ । अनि युवालाई स्वदेशमा नै बसेर सम्भावना खोजी गर्न कति धेरै उपदेश प्राप्त भइरहेका छन् । गारो छ ।
सामान्य भात पकाउने कुरा हो यो किन यति बिघ्न गर्या होला भन्ने लाग्दो हो हजुरहरुलाई तर मैले त यसमा एउटा नयाँ सामाजिक संरचनाको उदय देखें जसमा बिल्कुल नयाँ ढंगको अभ्यास भइरहेको थियो । समावेशीकरण, समतामूलक समाज, सामाजिक न्याय सबै कुराहरूको यति मीठो कार्यान्वयन भइरहेको अनुभव गरिरहेथे । यो त हाम्रो सामजिक संरचनाको परिवर्तित धारको कुरा पनि थियो मेरो विचारमा ।
हन सिस्टम तोडे त त्यस घरका मान्छेले ? कौतुहलता बढेको बढ्यै भयो । खुब चासो लागेर एक दिन माथि झ्यालबाट नै बोलाँए उनलाई "निर्मला बहिनीसधैँ बिहान हिँडेको देख्छु , टाढै हो ? कता हिँडेको भनेर ड्याङ्ङ नसोध्नु है भनेर हजुर आमाले सिकाएको कुरा प्रति सचेत भएर सोधेँ । उत्तरमा निर्मलाले मुसुक्क हाँसेर भनिन् ”दोकान”।
“ए” मैले प्रति उत्तरमा यति भने र हाँसे । उनी पनि हाँस्दै हाँस्दै गइन् यति बोलियो । जे होस् निर्मलाले भान्साघरको एकहोरो जिम्मेवारीबाट मुक्ति त पाएकै हो । बिहान बिहान जुरुक्कै उठेर आफ्नो व्यवसायमा हिँड्न पाइन् । नाफाघाटाको हिसाब पनि राख्न सक्ने भइन् । बिहानैदेखि आफ्नो व्यवसायलाई विचार पुर्याउने मौका पाइन् । व्यवसायमा थप मार्ग निर्देश पनि गर्न सक्छिन् । अवसर दियो भने जो सुकैलाई पनि अगाडि बढाउन सहज नै हुने रहेछ । म भान्साघरबाट तरकारी चलाउँदै, दाल फिट्दै, चुलो पुस्दै निर्मला गएको सधैं हेरिरहन्छु । एक सन्तोष लाग्यो । एक आनन्द पनि लाग्यो मलाई । म आफ्नो दैनिकीमा छँदैथिए थिएँ । दिनहरू बित्ने नै हुन् वितिरहे ।
व्यस्तता भन्ने हो या अस्तव्यस्तता यसलाई पनि हामीले आफ्नै सिस्टमभित्र ल्याइसकेका छौं । प्राय:सबैले व्यस्त भइयो भन्ने कुरा गरेको नै सुन्न पाइन्छ । त्यो व्यस्तताको उपलब्धि के कति होला समयले देखाएकै छ । निर्मलासँग आमने सामने नभएको पनि धेरै भएछ । फुर्सद नभएर हो या नचाहेर हो या परिस्थिति त्यस किसिमको नबनेर पनि हो । गाउँमा एउटा घरमा पूजाको आयोजना भयो । त्यहाँबाट निम्तो आयो म गएँ । पूजाआजातिर जाँदा गाउँका वरपरका साथीभाइ भेटिन्छन् । यसले सामाजिकीकरणको एउटा मिठो प्रक्रियालाई पूरा गर्दछ । त्यहाँ बसेर यसो गफ गर्यो दुःख सुखका । औषधि खाए जतिकै नै आराम समय व्यतीत हुन्छ । मितभन्दा हित ठूलो भन्ने कुरा कति सत्य छ । यी छिमेकीहरूको दैनन्दिनी आफूलाई प्राय: थाहा हुन्छ र आफ्नो पनि उनीहरूलाई थाहा हुन्छ । उनीहरुका हातका औँला खुट्टाका पन्जा यस्ता छन् भन्ने समेत आँखामा छर्लङ्ग छ । आनीबानी त थाहा हुने नै भयो । आफन्त भनेका कुनै चाड पर्व विशेषमा मात्रै भेला हुने हो । तर छरछिमेकी जिन्दगीभरि, बिहान बेलुका सधैं । त्यसैले छिमेकीहरु थप बढी प्रिय लाग्छ मलाई । मैले यसो भनिरहँदा आफन्तहरुले यो पढ्नुभयो भने नरिसाउनु है भन्न पनि मन लाग्यो यतिबेला । गाउँका दिदीबहिनीहरूको जमघट थियो दाइभाइहरू पनि हुनुहुन्थ्यो । तर दिदीबहिनी नै बढी हुनुहुन्थ्यो । म पनि चिया खाँदै बसिरहेको थिएँ । परबाट मुसुमुसु हाँस्दै निर्मला हातमा के के पोको बोकेर आइरहेकी देखेँ । मलाई कति खुसी लाग्यो । आज भने बल्ल निर्मलासँग गफ गर्न पाइने भयो । निर्मलाले हातमा बोकेर ल्याएको पोको त्यहाँ छेउमा कसैलाई समाउन दिइन् । मैले आफ्नै छेउमा बसाउने हिसाबले हातका पन्जा उठाएर यतै आऊ न बहिनी भनेर बोलाएर मेरै छेउका कुर्सीमा बस्नलाई भने अनि आइन् र मेरै छेउमा बसिन् । म व्यग्र थिएँ। यसो सन्चो बिसन्चो सोधासोध भयो हाम्रो जो आदतमै छ । मनभरि जे जति पीडा दुःख भएपनि शरीरमा कुनै बिमार नै भएपनि ठिकै छ भन्ने हिसाबले नै कुरा गर्ने गरिन्छ । हामीले पनि त्यस्तै गर्यौँ हुनसक्छ उनी सन्चै पनि थिइन् होला । मलाई आफ्नो बिसन्चो कुरा भन्नु भन्दा निर्मलासँग उनकै घरको कुरो सोध्नु थियो । निर्मला बहिनी तपाईं सधैं बिहान पसल गएको देख्छु । कसलाई छोडेर हिँड्नुहुन्छ त घर? “बाउछोरालाई छोडेर हिँड्छु।” सजिलो आयो उत्तर निर्मलाबाट । मलाई छोड्नु थिएन कुरा । कति राम्रो त बाबा छोराका प्रशंसामा दुई चार कुरा खर्चिएँ । आवश्यकता भन्दा दुई चारकुरा बढी नै खर्चिएँ लाग्यो । “बहिनीलाई पनि त भान्साघरको एकोहोरो जिम्मेवारीबाट मुक्ति मिलेछ नि त है।” खासमा यति भन्नु थियो के मलाई । यति कुरा राख्दा म धेरै हल्का भएको थिएँ । हुनसक्छ भान्साघरको एकोहोरो जिम्मेवारीबाट दिक्कै भइएछ कि क्या हो ? घरका मान्छेहरुले यति सुने भने मलाई राम्रो चाहिँ भन्दैनन् भन्ने पनि छ मनमा यतिबेला । “खुब सम्झना गर्नु है बहिनी यस्तो अवसर त सबैले पाउँदैन नि।”
मैले यति भन्दा निर्मलाले म तिर हल्का हास्दै भनिन् हेर्दै “दिदी हामी त दोकानमा नै पकाएर खान्छौ नि, म त बिहानै खाना बनाउन पो हिँडेको त पसल ।
बिहान उठेर घर पुसपास गर्छु, अनि यसो पूजा गर्यो, चिया बनाएर सबैलाई दिएर चिया खान्छु अनि दोकान खोल्छु । कोही आइहाल्यो भने यसो बेच्दै पनि गर्यो अनि खाना बनाउँछु । केटाकेटीलाई स्कुल जाने बेलासम्म म खाना तयार गरिसक्नुपर्यो। ९ /१० बजेतिर आउनुहुन्छ बाबा छोरा त्यतिबेलासम्ममा खाना तयार गरिसक्नुपर्यो नि त।”
म त यसै जमी गए नि! बरफ जस्तै । विस्फारित आँखाले निर्मलालाई हेरिरहें । शायद मेरो मुख पनि ट्वाँ भयो होला जस्तो लाग्छ। मलाई कुनै शब्दहरू फुटेनन् अब बोल्नलाई । के बोल्नु र कुनै कुरो बाँकी छ जस्तो पनि लागेन । त्यहाँ छेउमा कसैले मोबाइल चलाइरहेको थियो । कमेडी रिल्समा ऊ ऊ ऊ हाहाहा गरेर खित्का छाडेर कुनै लोग्ने मान्छे कमेडियन अट्टाहास गरिरहेको थियो ।
निर्मलालाई कसैले चिया ल्याएर दिए । एउटा ग्रुप दिदीबहिनीहरू तरकारी काट्दै हुनुहुन्थ्यो । अर्को सेलरोटी बनाउन जान्ने दिदीबहिनीहरूको ग्रुप पिठो मिलाउनमा व्यस्त थियो टिकटक बनाउँदै थिए कोही दिदीबहिनी । सेलरोटी बनाउन जान्न दिदीबहिनीहरुले “टिकटक चाहिँ हाम्रो पनि बनाइदिनु है हामी पनि रोटी पकाएर भाइरल हुम्” भन्दैहुनुन्थ्यो निर्मलाले चिया पिइसकेर गिलास जुठेल्नतिर लिएर गइन् । अरु गिलासहरु पनि जम्मा पारेर लिएर गइन् । म चाहिँ त्यही रिलमा आएको अट्टाहास सम्झिरहेको छु । उ उ उ हा हा हा ।।
नमुना निरौला दाहाल
मेचीनगर १० झापा