मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को सूचीमा राख्न माग
झापा २३ चैत्र/किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को सूचीमा राख्न माग गरेको छ ।
मुन्दुम ज्ञान प्रणालीलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकरण गर्न शनिबार माग गरेको हो।परिषद्को आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा राजधानीमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौँ प्राज्ञिक सङ्गोष्ठी–२०८२’ पछि ‘यलाखोम घोषणापत्र’ जारी गर्दै उक्त माग गरिएको हो ।
“किराती समाजमा हजारौँ वर्षदेखि सामूहिक पुर्ख्यौली ज्ञान मौखिक रूपमा हस्तान्तरण तथा नवीन ज्ञानसहित जीवन्त अभ्यास हुँदै आएको छ, जसलाई मुन्दुम ज्ञान प्रणाली भनिन्छ । विश्व मानव समाजका लागि उपयोगी मुन्दुमले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक बौद्धिक प्रतिनिधित्व गर्न सक्ने सामर्थ्य राख्ने भएकाले यसलाई युनेस्कोको अमूर्त सम्पदा सूचीमा सूचीकरण गर्न माग गर्दछौँ ”,घोषणापत्रको पहिलो बुँदामा भनिएको छ।
सङ्गोष्ठीमा मुन्दुम दर्शन,साकेला,मुन्दुम विश्वदृष्टिकोण र विऔपनिवेशीकरण,सृष्टि वर्णन,उपचार पद्धति र न्याय प्रणालीका विषयमा २३ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
घोषणापत्र वाचन गर्दै परिषद्का सदस्य भोगीराज चाम्लिङले किराती समाजमा भाषिक विविधताअनुसार मुन्दुम,मुन्धुम,मुन्थुम,मुद्दुम, मुदुम जस्ता विभिन्न शब्द प्रयोग भए तापनि त्यसको आद्य शब्द ‘मुन्दुम’ रहेको जानकारी दिनुभयो ।
सङ्गोष्ठीको समापन सत्रमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले किराती सभ्यताको मूल स्रोत मुन्दुम भएको चर्चा गर्दै यसको अभिलेखीकरण र पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो।उहाँले मुन्दुमलाई ‘लोकल’ बाट ‘ग्लोबल’ सम्म पुर्याउन जरुरी रहेको बताउनुभयो।परिषद्का कुलपति जयकुमार राईले मुन्दुमलाई अन्तर्राष्ट्रिय ज्ञान र विज्ञानसम्मत तुल्याउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो ।