मालपोतको माल
“हाम्रो बाबा त क्लासमा सधैं फस्ट-फस्ट हुनुहुन्थ्यो रे । उहाँले एस.एल.सी.मा त बोर्ड फस्ट नै गरेको रे बाबै ।”
यस्तै यस्तै कुरा बोलेर साथीहरू माझ फुर्तिली हुने सानी आज निरास थिई । दिउँसो आमासङ्ग बाबाको अफिसमा एकछिन के गएकी थिई उसको फुर्ती सबै हरायो । सानी कोठामा झोक्राएर बसिरहेकी थिई । त्यती नै बेला अफिसको काम सकेर उसको बाबा घर आइपुगे । सधैँ “बाबा, पापा !” भन्ने ओठहरू आज मौन देखेर उसको बाबाले मुख खोले-
“बाबा, पापा ! यि लेऊ अष्ट्रेलियन क्याटबरी !”
“खान्न म ! क्याटबरी स्याटबरी !” सानीले झर्किँदै बोली ।
“किन ? किन मेरो बाबालाई कसले रिस उठायो ?”
“हजुरले नि, अरू कसले हुन्छ ?”
“किन र मैले के गरेँ र ?” ऊ अनभिज्ञता जनाउँछ ।
“एस.एल.सी.मा र्बोर्डफस्ट भएको रे ! दिउँसो किन सजिलो नाम पनि लेख्न नजानेको ? ‘कमल परियार’ भन्दै थियो त्यो मान्छे । किन हजुरले ‘सुकुल परिवार’ लेखिदिएको त ? त्यो मान्छेले हजुरलाई कस्तरी गाली गर्योे । मलाई त रुनै मन लाग्यो ।” यति भन्दै सानी रुन थाली ।
“नरोऊ बाबा ! मालपोतको जागिर यस्तै हुन्छ के । जति बिगारेर लेख्न सक्यो उति धेरै क्याटबरी पाइन्छ के ! खराखर मिलाएर लेख्यो भने तिमीलाई क्याटबरी कसले दिने ? अनि तिम्रो मम्मीलाई नयाँ नाना किन्न पैसा कसले दिने ?”
बुबाको कुरा सुनेर सानीको चित्त थामियो । भोलिपल्ट साथीहरूसङ्ग भन्न थाली-
“मेरो बाबा त एस.एल.सी.मा नि बोर्डफस्ट, अनि अफिसमा बिगारेर लेख्न नि फस्ट बाबै ! था’ छ, अफिसमा त जति विगारेर लेख्न सक्यो, झन उति धेरै पुरस्कार पाइन्छ रे !”
रामकुमार पण्डित
सिमलटार, काठमाण्डौँ