`काव्य काफिया´चितवनमा कवि दोस्ताजको एकल वाचन

दिलिप घिमिरे · माघ ७, २०८२ १०:५३ PM
Cover Image for News

झापा ६ माघ/ मङ्गलबार साँझ पुसको शीतलहरलाई चिर्दै मानिसहरूले भरतपुरस्थित चिया सर्कलमा भेला भएर कविता श्रवण गरेका छन्।
`काव्य काफिया´को पहिलो शृङ्खलामा उभिएर कवि दोस्ताजले चितवनको चिसोलाई एकाएक कविताले तताए।

कवि दोस्ताज मङ्गलबार चितवन आएका थिए । सोमबार काठमाडौंमा `एकदिन मानिसहरू फर्किनेछन्´ कवितासङ्ग्रह विमोचन गराएर उनी चितवन आएका हुन् । 
`काव्य काफिया´को पहिलो शृङ्खलामा उभिएका कवि दोस्ताजले आफ्नै सङ्ग्रहबाट ४ वटा कविता प्रस्तुत गरे । रचनागर्भसहित दोस्ताजले कविता सुनाएका हुन् ।`चितवन आएर कविता सुनाउन पाउँदा मलाई खुसी लागेको छ, सबैप्रति प्रेम छ´, दोस्ताजले भने । 

कार्यक्रमका सूत्रधार रामकृष्ण अनायासले सहजीकरण गरेको कार्यक्रममा कवि दोस्ताजलाई सुन्न भरतपुरस्थित चिया सर्कलमा चितवनका धेरै कवि र कविता पारखी उपस्थित थिए । काव्य काफियामा मानिसहरूले फरक अनुभूति गरे। कुनै थियटरमा गएर चुपचाप नाटक हेरेजस्तै कविताको रसास्वादनमा हराएजसरी आमन्त्रित मानिसहरू मन्त्रमूग्ध बने। यतिबेलासम्म मानिसको शरीरको चिसो हटिसकेको थियोे । मनको कुनाकुना कविताका धूनहरू गुञ्जिरहेको थियो ।

फोटो
पूर्णप्रसाद अधिकारी र कपिल अज्ञातले कवि दोस्ताजलाई कवितामा बिम्बलाई प्रस्तुत गर्न सुझाव दिए ।`कवि दोस्ताजका कवितामा आक्रोश र विरोधका स्वर धेरै छन्´,कवि एलबी क्षेत्रीले भने।`काव्य काफिया´ रचनावाचन शृङ्खला हो । `जहाँ शब्द, लय र भाव एकै स्वरमा बोल्छन्´यो शृङ्खलाको नाम दिइएको छ । शृङ्खलालाई काव्य वाचनका रूपमा अगाडि बढाइने संयोजक सुमन घिमिरेले बताए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।