कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार
झापा, चैत १३ । कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार समर्पण गरिएको छ । नाटककार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा चैत १३ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न एक कार्यक्रममा सो पुरस्कार अर्पण गरिएको हो । वासु शशी स्मृति परिषदद्वारा आज आयोजित कार्यक्रममा वासु शशी स्रष्टा पुरस्कार २०८२ साहित्यकार जयदेव भट्टराई र कृष्ण- सरस्वती साहित्य पुरस्कार २०८२ साहित्यकार हरि मञ्जुश्रीलाई समर्पण गरिएको थियो । वासु शशी साहित्य पुरस्कारको राशि नगद रू २५,०००/-, वासु शशी स्रष्टा पुरस्कारको राशि नगद रू २१,०००/- तथा कृष्ण-सरस्वती साहित्य पुरस्कारको राशि नगद रू २५,०००/- रहेको छ।
परिषदका अध्यक्ष गीतकार कालीप्रसाद रिजाल सभापति रहेको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गीतकार तथा चलचित्र निर्देशक यादव खरेल रहेका थिए।अन्य आमन्त्रित व्यक्तित्वहरू परिषदका उपाध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन', कृष्ण-सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति कवि डा.विष्णुविभु घिमिरे तथा परिषदका सल्लाहकार राधेश्याम लेकालीको उपस्थिति रहेको थियोे।
पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गर्दै वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे।
सभापतिको आसनबाट बोल्दै गीतकार कालीप्रसाद रिजालले वासु शशीको जीवनको अन्तिम घडीको स्मरण गर्दै घण्टौँ गफ गर्नुपर्ने व्यक्ति चूपचाप बस्नु परेको कुरा भावपूर्ण रूपमा व्यक्त गरेका थिए। वासु शशी ज्यादै भद्र, असल मान्छे भएको बताउँदै उनले आफ्नो मित्र समेत रहेका वासु शशी प्रबुद्ध व्यक्तित्व भएको र उनका कृतिहरू ज्यादै उत्कृष्ट भएको बताए।
परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले आफ्नो स्वागत मन्तव्यमा परिषदको स्थापनाका बारेमा संक्षेपमा प्रकाश पार्दै परिषदबाट पहिले पुरस्कृत हुने साहित्यकारहरूको समेत चर्चा गरेका थिए। वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि शुरू गरिएको बताउँदै उनले वाशु शशी स्रष्टा पुरस्कार भने यसै वर्षदेखि शुरू गरिएको बताए।
कार्यक्रममा उपाध्यक्ष श्रीओम श्रेष्ठ'रोदन'ले पुरस्कृत स्रष्टा हरूका बारेमा बोल्दै तीनैजना स्रष्टाहरूलाई चिनाइरहनु नपर्ने र नाम नै काफी भएको बताए।
स्रष्टा हरि मञ्जुश्रीका हालसम्म १२६ वटा कृतिहरू प्रकाशन भइसकेको बताउँदै नेपाली भाषा, साहित्य, सम्पादन तथा पत्रकारितामा उनको ठूलो योगदान रहेको बताए।
त्यसैगरी, रोदनले जयदेव भट्टराई सकारात्मक सोच राख्ने व्यक्ति भएको र नेपाली भाषा साहित्यमा उनको योगदानको चर्चा गरेका थिए। उनलेे गोरखापत्रको शनिवार अङ्क मार्फत अग्रज साहित्यकारहरू चिनाउने काम गरेको र उनले नव लेखकहरूलाई प्रोत्साहित गर्ने गरेको बताए।
त्यसैगरी, स्रष्टा वसन्त चौधरीका बारेको बोल्दै रोदनले एउटा उद्योगपति भएर पनि नेपाली भाषा, साहित्य, गीत सङ्गीतका क्षेत्रमा उनको कलम चल्ने गरेको बताए।व्यापारमा नाफा र सृजनामा सन्तुष्टि हेरिने भए पनि उनले नाफा र सन्तुष्टि बीच सन्तुलन राख्न सकेको बताए । वसन्त चौधरीका २१ थान कृतिहरू रहेको बताउँदै उनका केही कृतिहरू हिन्दी तथा अंग्रेजीमा समेत अनुवाद भइसकेको बताए। वसन्त चौधरी फाउन्डेसन तथा श्री लूनकरणदास-गङ्गादेवी चौधरी साहित्य कला मन्दिर मार्फत उनको साहित्य तथा सङ्गीत क्षेत्रमा ठूलो योगदान रहेको बताए।
कार्यक्रममा कवि तथा नाटककार वासु शशी तथा कवि कृष्ण जोशीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाएर श्रद्धा व्यक्त गरिएको थियोे।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि ठाकुर बेल्बासेले गरेका थिए।