कवि टङ्क विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृति लोकार्पण
झापा १७ असोज /कवि टङ्क विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृतिको शनिबार लोकार्पण गरिएको छ।
बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको प्रायोजनमा बृहत् कविता, गजल तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। बुद्धशान्ति–३ स्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार टङ्क विकल्प काफ्लेको ‘ईश्वरलाई प्रश्न’ कृति लोकार्पण बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, कार्यक्रमका प्रमुख अतिथ वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ ,प्राज्ञ सुभद्रा भट्टराई, विशिष्ट प्राध्यापक तथा साहित्यकार चुडामणि वाशिष्ठ, शिक्षा तथा खेलकुद शाखा अधिकृत झल्का भट्टराई, मारवाडीभाषी कवि सत्यनारायण तायल, लेखक टङक विकल्प ,कृति प्रकाशक तुलसा काफ्लेलगायतले संयुक्तरूपमा कृतिको लोकार्पण गरेका थिए। 
कृति लोकार्पणपछि विशिष्ट प्राध्यापक तथा साहित्यकार चुडामणि वाशिष्ठले ‘ईश्वरलाई प्रश्न’ कृतिको समीक्षा गर्दै कृतिका विषयवस्तु, भाव, साहित्यिक पक्ष तथा कवितामार्फत उठाइएका प्रश्नहरूबारे चर्चा गर्नुभएको थियो।
साहित्यकार, शिक्षासेवी, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्य धनबहादुर श्रेष्ठले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य पुष्प काफ्ले र जय भण्डारीले गर्नुभएको थियो।
कार्यक्रममा बुद्धशान्तिका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूले कविता प्रस्तुत गरेका थिए। सोही अवसरमा माध्यमिक तहस्तरीय कविता वाचन प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। विद्यार्थीहरूको कविता प्रस्तुतिले कार्यक्रमलाई थप सिर्जनात्मक र उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकहरूले गजल तथा कविता वाचनसमेत गर्नुभएको थियो। त्यस्तै, श्री कला केन्द्र संगीतालयका विद्यार्थी तथा प्रशिक्षकहरूले विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कविता, गजल र सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप साहित्यिक तथा सांस्कृतिक बनाएको थियो।