काठमाडौंमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न
झापा २३ चैत्र /राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा शनिबार ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ।
‘वर्तमान कविता समूह’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक भावना, संवेदनाहरू र सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा तथा मानवीय अस्तित्वका विविध पक्षलाई अंग्रेजी भाषामा प्रस्तुत गर्नुभएकाे थियाे।महोत्सवमा प्रस्तुत कविताहरूले सामाजिक विसंगति,प्रेम,प्रकृति, राजनीतिक निराशा र मानवीय अस्तित्वका विविध पाटालाई समेटेका थिए।
कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ ले अन्य भाषाहरूमा पनि यस्ता बहुभाषिक अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना बनाएको र यो पहिलो कार्यक्रम रहेको जानकारी दिए।
उनले आफ्नो कविता ‘पब्लिक टोइलेट’मार्फत आधुनिक सभ्यता र राजनीतिमाथि कडा व्यङ्ग्य प्रहार गरे, जहाँ नेताहरूले संसद्बाट बाहिरिँदा बुद्धु बन्दा बन्दै बुद्धको भेष धारण गरेको ढोंग गर्छन्।
यस्तै,कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामा बाबु र छोराको संवादमार्फत आकाशलाई विश्वास र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गरे।
कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत उज्यालोको प्रतीक्षामा रहेका सिर्जनशील आँखाहरूको कथा सुनाइन् भने कवि अभय श्रेष्ठले ‘लभ: अ मेडिटेटिभ स्लीप’ मार्फत प्रेम र निद्राको अन्तरसम्बन्धलाई जोड्दै देश गुमाउनुको पीडा र अस्तित्वको संकटलाई गहिरो गरी प्रस्तुत गरे।
कवि सुमन वर्षाले ‘लुज’ शीर्षकको कविता वाचन गर्दै आफ्ना इन्द्रियहरूलाई त्यागेर जीवनको वास्तविक उत्सव र शान्ति कसरी पाउन सकिन्छ भन्ने दार्शनिक पक्ष निकालिन्। कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत भविष्यमा समानता आउने र सिमान्तकृत पात्रहरूले न्याय पाउने आशावादी दृष्टिकोण राखे।
कवि करुणा नेपालले ‘न्यू विगिनिङ’ शीर्षकको कविता वाचन गर्दै पीडा र निराशापछिको नयाँ सुरुवातको उत्साहलाई व्यक्त गरिन्।
कवि तेजिन एमिल इजमले आफ्नो शीर्षक विहीन कवितामार्फत (जुन उनले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित भई लेखेका थिए) शान्तिका लागि चढाइएको फूल कसरी बारुद र घृणाको धुवाँमा परिणत हुन्छ भन्ने कुरामा आक्रोश र अन्योल व्यक्त गरे।
वातावरणीय चेतका साथ कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत हराउँदै गएका नदीहरू र भू-माफियाको कब्जामा परेको प्रकृतिको कारुणिक अवस्था चित्रण गरे। कवि कृपा खनालले ‘लुकिङ फर अ म्यूज’, ‘ब्रीदिङ विथ द म्यूज’ र ‘लेसन्स फ्रम अ म्यूज’ गरी तीन खण्डमा सहरी जीवनका प्रेरणा र उडानको कलाबारे कविता सुनाइन्।
कवि भुवन थपलियाले ‘स्प्रिङ’ शीर्षकको कवितामा प्रकृति र वनसँगको सामीप्यताले नै मानिसको आत्मा शुद्ध हुने भाव व्यक्त गरे। कवि आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत सहरीकरणले प्राकृतिक सौन्दर्यलाई कसरी कुरुप बनाउँदैछ भन्ने यथार्थ प्रस्तुत गरे। कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत गरिबीको मूल्य र सामाजिक अन्यायको नग्न तस्बिर कवितामा खिचे।
कवि रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत प्रेमको जादुमयी भ्रमबाट मुक्त हुने चाहनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिन्।
कवि चन्द्रबहादुर लामाले ‘कोइसन’ शीर्षकको कवितामार्फत आफ्ना ‘कमरेड’ ले गरेका बाचा र देखाएका सपनाहरू अधुरा रहेको भन्दै राजनीतिक धोकामाथि प्रश्न उठाए। कवि धीरकुमार श्रेष्ठले मृत्युको मौनता र अन्तिम यात्राको यथार्थलाई ‘द कल’ मार्फत प्रस्तुत गरे।
कार्यक्रममा कवि हरीश अधिकारीले प्रतिकूल मौसममा पनि अस्तित्व जोगाउन संघर्ष गर्ने बिरुवाको प्रतीक प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाए।