‘कपिल लामिछानेको लघुकथा लोकार्पण तथा सम्पादक/प्रकाशक सम्मानित
झापा ६ माघ/साहित्यकार ‘कपिल लामिछानेको लघुकथासाधना’लोकार्पण तथा सम्पादक/प्रकाशक सम्मान कार्यक्रम सोमबार सम्पन्न गरिएको छ।
प्रश्रित प्रतिष्ठान नेपाल,रूपन्देहीको आयोजनामा बुटवलमा एक विशेष साहित्यिक समारोहबीच कृति लोकार्पण, परिचर्चा,लघुकथा वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा.तिलक आचार्यको प्रमुख आतिथ्यमा ‘कपिल लामिछानेको लघुकथासाधना’कृतिको लोकार्पण गरिएको हो।
डा.शालिकराम पौड्यालद्वारा सम्पादित उक्त कृति स्रष्टा कपिल लामिछानेका लघुकथाहरूमाथि केन्द्रित रहेको छ। विमोचित कृतिमाथि समीक्षा गर्दै ऋषिराम भुसाल,वनमाली निराकार,रुद्र ज्ञवाली र डा.अजित खनालले एउटै व्यक्तिका लघुकथामाथि गरिएका समालोचनाहरूको यो पुस्तक लघुकथाको इतिहासमा पहिलो भएको दाबी गरे।
समारोहमा बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा.अरुणकुमार क्षेत्री,डा.हरिप्रसाद भण्डारी, डा.प्रेमप्रसाद तिवारी,राजेन्द्र आचार्य,उद्धव देवकोटा,विजय सागर,सरु ज्ञवाली लगायतका १५ जना स्रष्टाहरूले लघुकथा वाचन गरेका थिए।
प्रतिष्ठानका केन्द्रीय सदस्य तथा बुटवल बहुमुखी क्याम्पस नेपाली शिक्षा विभागका विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थले सम्मानित व्यक्तिको व्यक्तित्वमाथि प्रकाश पारेका थियो ।
साहित्यिक क्षेत्रमा योगदान पुर्याएबापत
कार्यक्रममा भुँडीपुराण प्रकाशनका
प्रबन्धक केशवप्रसाद पराजुली र सम्पादक डा.शालिकराम पौड्याललाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरियो।
प्रमुख अतिथि आचार्यले साहित्यलाई समाज परिवर्तनको संवाहक मान्दै प्रकाशक र लेखकबीचको सहकार्य आवश्यक रहेको बताए। विशिष्ट अतिथि मदन पुरस्कार विजेता नीलम कार्की ‘निहारिका’ ले सम्पादकको मिहिनेत र कलाको प्रशंसा गरिन् ।
प्रतिष्ठानका अध्यक्ष डा.कपिल लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा.गितु गिरीले स्वागत गरिन् भने कार्यक्रमको सञ्चालन महासचिव डा.शालिकराम पौड्यालले गरेका थिए ।