कमला पराजुलीको ‘ॐ शान्ति’ कविता सङ्ग्रह विमोचन
झापा २५ असोज / मोरङको विराटचोकस्थित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रमा कमला पराजुलीद्वारा लिखित ‘ॐ शान्ति’ कविता सङ्ग्रह विमोचन आइतबार गरिएको छ।
ब्रह्माकुमारी कविता पोखरेलको अध्यक्षता तथा साहित्यकार छवि वैरागी घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ७५ पृष्ठको कविता सङ्ग्रह लोकार्पण गरिएको हो।
७२ वर्षको उमेरमा पराजुलीले आफ्ना अनुभव, आध्यात्मिक चिन्तन र अनुभूतिलाई कवितामार्फत प्रस्तुत गर्दै कृति तयार पारेकी हुन्। विभिन्न कार्यक्रम तथा ध्यान केन्द्रमा कविता सुनाउँदै आएकी उनले फुटकर रूपमा लेखिएका कवितालाई सङ्कलन गरेर पुस्तकका रूपमा प्रकाशन गरेकी हुन्।
कार्यक्रममा कोसी साहित्य कला परिषद्का अध्यक्ष साहित्यकार केशु विरहीले ‘ॐ शान्ति’ कविता सङ्ग्रहलाई ज्ञान बाँड्ने पुण्य कार्यको संज्ञा दिँदै यसले साहित्यिक यात्रामा लाग्न चाहनेलाई प्रेरणा दिने बताए। पुस्तकले सुख हामीभित्रै रहेको सन्देश दिएको उल्लेख गर्दै उनले लेखकको आगामी साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरे।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेले सिर्जनामा सौन्दर्य हुने उल्लेख गर्दै कविता सङ्ग्रहले शान्ति कहाँ पाइन्छ भन्ने प्रश्नको खोजी गरेको बताए। उनले आगामी संस्करणमा भाषिक परिष्कारसहित कृतिलाई थप विशिष्ट बनाउन सुझाव दिए।
त्यस्तै, बेलबारी कला साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले वर्तमान समयमा मानिसभित्र बढ्दै गएको अशान्ति र द्वन्द्व न्यूनीकरण गर्न आध्यात्मिक चिन्तन आवश्यक रहेको बताए। उनले कमला पराजुलीले आध्यात्मिक गहिराइमा पुगेर कविता सिर्जना गरेको धारणा राखे ।
कृतिका लेखक पराजुलीले केही वर्षअघि नै कविता लेख्न सुरु गरेको बताइन् । भौतिकभन्दा आध्यात्मिक पक्षमा बढी ऊर्जा र शक्ति अनुभूति हुने गरेको उल्लेख गर्दै उनले आफ्नै अनुभव र मनमा आएका भावलाई शब्दमा उतारेको बताइन्। ध्यान केन्द्रमा तथा विभिन्न कार्यक्रममा कविता सुनाउँदा श्रोताले मन पराएपछि ती रचनालाई सङ्कलन गरेर पुस्तक प्रकाशन गरेको उनले जानकारी दिइन् ।
