इल्या भट्टराई ‘लीलाध्वज थापा स्रष्टा सम्मान´बाट सम्मानित
साहित्यकार इल्या भट्टराई ‘लीलाध्वज थापा स्रष्टा सम्मान´बाट सम्मानित तथा पुरस्कृत भएकी छन् । नेपाली साहित्यमा लामो समयदेखि कथा, यात्रा संस्मरण र नियात्रा लेखेर उल्लेखनीय योगदान पुर्याउँदै आएकी साहित्यकार भट्टराईलाई नगद रु. १०,०००/- पुरस्कार सहित सम्मान गरिएको हो ।
नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका तर्फबाट अध्यक्ष विजयध्वज थापाले आज असोज २४ गते आयोजित एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।
सम्मान तथा पुरस्कार ग्रहण गर्दै स्रष्टा इल्या भट्टराईले लीलाध्वज थापाको मन उपन्यास आफू सानो छँदा नै पढेको र उहाँप्रति ज्यादै प्रभावित भएकोमा हाल उहाँकै नामबाट स्थापित साहित्यिक प्रतिष्ठानबाट सम्मानित र पुरस्कृत हुन पाउँदा ज्यादै खुशी लागेको कुरा व्यक्त गर्दै सम्मानका लागि प्रतिष्ठानप्रति आभार व्यक्त गरेकी थिइन्।
कार्यक्रममा डा.बमबहादुर थापा जिताली ,साहित्यकार ठाकुर शर्मा भण्डारी, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त , पूर्व प्रशासक अर्जुनमणि दीक्षित लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। मधुसुदनप्रसाद घिमिरे, सञ्जय सोती, विजयध्वज थापा, डा.बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल'जस्ताघरे', वीरबहादुर लोहनी, उत्तम विचार, सुन्दर खड्का, रणबहादुर बुढाथोकी,अमर कीर्तिमानी, जि.के.एन. खडेरी, चेवन बस्नेत, एन.बी.जनकपुरी, महेशप्रसाद रिजाल, दुर्गा किरण तिवारी, तारा केसी, सुशान्त केसी, कुसुम पोखरेल, राज रजक, राजेन्द्र सुवेदी, राजाराम राउत, मुरारि अर्याल,लव खड्का, राजेशमान केसी, मन भुजेल, ठाकुर शर्मा भण्डारी, माया बस्नेत थापा, रुपा रिसाल, इन्दिरा ढकाल,राधा कार्की, जित कार्की, गजेन्द्र बोहरा, एम.बि.पाण्डे, रेणुका भट्टराई, निशा केसी, जुमन किरण, अर्जुन चन्द्र तथा मदन नेपालले कार्यक्रममा आ-आफ्ना रचना वाचन गरेका थिए।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्दै सम्मानित स्रष्टाबारे प्रकाश पारेका थिए भने उत्तम विचारले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष विजयध्वज थापाले साहित्यकार इल्या भट्टराईले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै सम्मान गर्न पाउँदा स्वयं संस्था र आफ्नो लागि पनि गौरवको विषय भएको धारणा व्यक्त गरेका थिए। हालसम्म प्रतिष्ठानले ८४ जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मान,९ जनालाई साहित्य सम्मान तथा ५०० भन्दा बढीलाई कदरपत्र प्रदान गरिसकेको जानकारी गराउँदै रचना वाचन, सम्मान तथा पुरस्कार प्रदान र कविता प्रतियोगिता तथा पुस्तक प्रकाशन मार्फत् साहित्य सेवा गर्न पाउँदा खुशी लागेको बताएका थिए।