डा. मधुराज केरुङको ‘अब तमोर रातो बग्छ’ गजल सङ्ग्रहमाथि ताप्लेजुङमा समीक्षा

दिलिप घिमिरे · असोज २५, २०८३ ९:४८ AM
Cover Image for News

झापा २५ असोज /गजलकार डा. मधुराज केरुङको गजलसङ्ग्रह ‘अब तमोर रातो बग्छ’ माथि ताप्लेजुङमा समीक्षा गरिएको छ।

 मुक्कुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा शुक्रबार रेडियो ताप्लेजुङको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका अग्रज तथा समकालीन साहित्यकारहरूले कृतिमाथि समीक्षा गर्दै गजलहरू वाचन गरेका थिए 

कार्यक्रममा साहित्यकारहरूले डा. केरुङका गजलमा अभिव्यक्त विद्रोह, सामाजिक चेतना, पहिचान, सांस्कृतिक मौलिकता, प्रेम तथा जीवनदर्शनका विविध पक्षमाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कृतिकार डा. मधुराज केरुङ
मुक्कुमलुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले साहित्यकार केरुङको परिचय प्रस्तुत गर्दै उहाँ पाँचथर निवासी तथा पाँचथर बहुमुखी क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत रहेको जानकारी गराए। उनले केरुङ लिम्बू समुदायबाट कम उमेरमै विद्यावारिधि हासिल गर्ने व्यक्तित्वमध्ये एक रहेको उल्लेख गर्दै कृतिमा ११२ पृष्ठमा समेटिएका १०५ वटा गजल रहेको बताए। उनका अनुसार सङ्ग्रहमा लोकछन्द तथा लिम्बू मुन्धुमी छन्दको प्रयोगसमेत पाइन्छ।

वरिष्ठ साहित्यकार लेकाली कान्छा (मुक्कुम) ले बहुआयामिक व्यक्तित्वका धनी केरुङको गजलसङ्ग्रहमाथि समीक्षा गर्न पाउँदा खुसी व्यक्त गरे। उनले केरुङका सिर्जनामा पूर्वी पहाडको अगम पहरामा फुलेको जङ्गली फूलको निख्खर सुवासजस्तो मौलिकता रहेको धारणा राखे। उनका अनुसार केरुङका रचनामा लिम्बुवानी भूमिको सुगन्ध, सहअस्तित्ववादी चेतना तथा स्थानीय जीवनशैलीको विशिष्ट अभिव्यक्ति पाइन्छ। स्थानीय बोली, लवज र पहिरनलगायत सांस्कृतिक पक्षको प्रयोगले उनका सिर्जनालाई पृथक् पहिचान दिएको उनले बताए।

कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपालले कृतिले आफूलाई अपरिचित साहित्यकार केरुङसँग परिचित गराएको उल्लेख गरे। उनले सङ्ग्रहमा विद्रोह र जागरणका साथै स्खलित हुँदै गएका मानवीय मूल्यको उजागर, अन्यायविरुद्ध आवाज उठाउने आह्वान, गरिबीको चित्रण तथा संस्कृति र संस्कारका विषय समेटिएको बताए।

गजल कृति
साहित्यकार होमनाथ दाहालले केरुङका गजलमा लिम्बुवानी माटो र पहिचानका पक्षमा सशक्त अभिव्यक्ति आएको धारणा राखे। फुङ्लिङस्थित अक्सफोर्ड आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिरेष कार्कीले कृतिमा शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई समेत दृष्टिगत गरी रचना गरिएको बताए।

कार्यक्रमका सञ्चालक तथा मुक्कुमलुङ साहित्य प्रतिष्ठानका सचिव नवराज आचार्यले कृतिमा मौलिकतासँगै पहिचान र कलात्मकता अन्तर्निहित रहेको उल्लेख गरे।

साहित्यका विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएका केरुङका यसअघि ‘फक्ताङलुङको फेदिबाट’ र ‘साम्याङ्फूड’ प्रकाशित छन्। ‘अब तमोर रातो बग्छ’ उनको तेस्रो गजलसङ्ग्रह हो। यस सङ्ग्रहमा जीवनदर्शन, राजनीति, समाज, प्रणय, रतिराग तथा जीवन र जगत्का विविध विसङ्गतिसँग सम्बन्धित गजल समेटिएका छन्।
समीक्षकहरूको विचारमा यस कृतिमा केरुङ परिपक्व र सिद्धहस्त गजलकारका रूपमा प्रस्तुत भएका छन्। सामाजिक विसङ्गतिमाथिको प्रहार, अन्यायविरुद्धको स्वर, सांस्कृतिक चेतना र मौलिक अभिव्यक्तिका कारण सङ्ग्रह पठनीय बनेको उनीहरूको धारणा थियो।

कार्यक्रममा साहित्यकारहरू मणि सेम्बु, सीता पिरती, (स्काई) नवीन लाम्गादे, अनिशा वि.क., रीता घिमिरे (घायल), आईतराज खजुम, तेज मैनाली र प्रशान्त लेखकले सङ्ग्रहभित्रका गजल वाचन गरेका थिए।

ट्यागहरू:
साहित्य #गजल#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।