इन्द्रेनी प्रकाशन,असमले गर्यो तेजपुरमा कविगोष्ठी एवम् पुस्तक लोकार्पण समारोह सम्पन्न

दिलिप घिमिरे · असोज १७, २०८१ ७:३५ PM
Cover Image for News

इन्द्रेनी प्रकाशन,असमको तेजपुरमा
 कविगोष्ठी एवम् पुस्तक लोकार्पण समारोह सम्पन्न : 

इन्द्रेनी प्रकाशन, असमको अगुवाइमा असमको शोणितपुर जिल्ला अन्तर्गत तेजपुरको चान्दमारीस्थित हरिहर धाम सभागारमा गत ०२ अक्टोबर २०२४, बुधवारका दिन 
 कविगोष्ठी एवम् पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ। 
 तिनवटा सत्रमा विभाजित कार्यक्रमको पहिलो र दोस्रो सत्र कृष्णनील कार्कीले सञ्चालन गरेका थिए भने तेस्रो सत्र अमित अधिकारी र निलीमा आचार्य सञ्चालकका रूपमा रहेका थिए। कार्यक्रम व्यवस्थापन भने इन्द्रेनी प्रकाशनको पक्षमा ज्योति हुमागाईँ र पूजा आचार्य रहेका थिए। 
 पहिलो उद्घाटन सत्रमा महात्मा गान्धी र लालबहादुर शात्रीको जन्मदिवस हुनाले विशिष्ट साहित्यकार मित्रदेव शर्माले दुवै महान विभूतिका तस्बिरमा माल्यार्पण गर्छन्। त्यसपछि सभापतिमण्डलको आसन ग्रहण,परिचय एवम् स्वागत कार्यक्रममा नेपाल राष्ट्रबाट आउनुहुने अतिथिहरूमा-  नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष तथा  कवि, निबन्धकार  मोमिला जोशी, यसै प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्की, नेपाली कला साहित्य डट कम प्रतिष्ठानका मानार्थ‌ सदस्य डा. हरिप्रसाद पोखरेल मानसाग्नि,  त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजीका उपप्राध्यापक , कवि, कथाकार, समालोचक महेश पौड्याल साथै गुवाहाटी विश्वविद्यालयका  अध्यापक तथा निबन्धकार, समालोचक, कोशकार डा. खगेन शर्मा र विशिष्ट समालोचक, कवि, कथाकार,अनुवादक तथा इन्द्रेनी प्रकाशन, असमका बोर्ड डाइरेक्टर्सका अन्यतम् सदस्य रुद्र बरालको उपस्थिति रहेको थियो। 
 स्वागत भाषण प्रदान गर्दछन् स्वागतकारिणी समितिका सभापति कवि, कथाकार खड्गबहादुर कौशिकले भने अतिथिबाट विशेष वक्तव्य राख्नेहरूमा  प्रा.मोमिला जोशीले ' कवितामा नारी र नारीका कविता' शीर्षक विषयमा १० मिनटको वक्तव्य राख्तछिन्। त्यसपछि महेश पौड्यालले  'आजको कविता'  बारे १० मिनट बोल्दछन्। यसै बिच डा. हरिप्रसाद पोख्रेल मनसाग्नि र रामेश्वर कार्कीले स्वरचित कविता वाचन गर्छन्। शुभेच्छामूलक वक्तव्यमा डा. खगेन शर्माले ६ मिनट बोल्दछन् भने अध्यक्षीय वक्तव्यमा रुद्र बरालले इन्द्रेनी प्रकाशन, असमको गतिविधि लगायत भविष्य योजनाबारे सभालाई जानकारी गराउँछन् र पहिलो सत्रको समापन घोषणा गर्दछन्। 

विमोचन सत्रका रूपमा दोस्रो सत्र रहेको थियो। जसमा सभापतिमण्डलको आसन ग्रहण/ परिचय/ स्वागत रहन्छ। यस क्रममा अतिथिका रूपमा‌ नेपाली भाषा परामर्श समिति, साहित्य अकादमी, नयाँ दिल्लीका सदस्य चन्द्रमणि उपाध्याय, कोशकार, अनुसन्धाता, पत्रकार ( काठमाडौँ)का डा. बीरबहादुर महतो,    कवि, निबन्धकार डा. दैवकी देवी तिमसिना,  तेजपुर विश्वविद्यालयकी  हिन्दी विषयकी अध्यापिका तथा निबन्धकार डा. गोमा देवी अधिकारी, कवि, कथाकार, नियात्राकार डा. देवेन सापकोटा, प्रवक्ता, सर्जक, सङ्गठक नवप्रभा अधिकारी,  कवि, कथाकार पुरुषोत्तम उपाध्याय आदिको उपस्थिति रहेको थियो। यस सत्रमा तिनवटा पुस्तक लोकार्पण हुन्छन्। ती पुस्तकहरू  यसप्रकार छन्  -भारतेली नेपाली प्रगतिवादी साहित्य ( सर्वेक्षण) : सम्पादकत्रय : अविकेशर शर्मा, रुद्र बराल, डा. भक्त प्रसाद गौतम, एकैछिन पर्ख न जुनेली ( कविता) : लक्ष्मण प्रधान, प्रगतिवाद : कला र साहित्य ( समालोचना) : अविकेशर शर्मा। उक्त पुस्तकहरूको परिचयात्मक वक्तव्य राख्छन् इन्द्रेनी प्रकाशन, असमका बोर्ड सदस्य तथा चर्चित व्यङ्ग्यकार अर्जुन निरौलाले। मञ्चासीन अतिथिबाट शुभेच्छामूलक वक्तव्य रहेको थियो। जसमा चन्द्रमणि उपाध्याय, डा. बीरबहादुर महतो, डा. गोमा अधिकारीले ६ मिनट र डा. देवेन सापकोटाले ४ मिनट बोल्दछन्। अध्यक्षीय वक्तव्यमा ज्ञानबहादुर छेत्रीले इन्द्रेनीले हल्ला कम्ती र काम बढी गर्छ भन्दै इन्द्रेनीको विगत कार्यक्रमबारे विशेष टिप्पणी गर्दछन्। 

तेस्रो सत्र कविगोष्ठीका रूपमा रहेको थियो। जसमा लगभग ५५ जना कविले कविता वाचन गर्दछन्। यस सत्रमा मञ्चासीन अतिथिहरूमा कवि, कथाकार मोहन सुवेदी, असम नेपाली साहित्य सभाका उपसभापति कृष्णलाल शर्मा,  कवि,  विमल प्रधान , तेजपुर कलेजका अवकाशप्राप्त  भाइस प्रिन्सिपल कमल चन्द उपाध्याय, असम नेपाली साहित्य सभा, बिटिआर  क्षेत्रका सभापति गायत्री भट्टराई,  व्यङ्ग्यकार तथा अवकाशप्राप्त प्रिन्सिपल बृजलाल शर्मा, निबन्धकार दीननाथ निरोला, असम नेपाली साहित्य सभाका सचिव तथा नाटककार राम उपाध्याय, सर्जक लावण्य देवी आदि रहेका थिए। कविगोष्ठीमा -मोहन सुवेदी, रामप्रसाद दाहाल, अर्जुन कार्की, रिजु देवी, प्रदीप शर्मा, जमुना दाहाल, विमल प्रधान, घनश्याम अधिकारी, सन्तोष सुवेदी, पद्मा देवी उपाध्याय' सृष्टि', इन्दिरा गौतम, डा. भक्त प्रसाद गौतम , पुरुषोत्तम उपाध्याय, कल्पना छेत्री कटुवाल, नारायण अधिकारी, कृष्णलाल शर्मा, अनुप शर्मा, ऋतिक शर्मा, नारायण छेत्री, रुक्मिणी शर्मा, रेनुका सापकोटा लगायत ५५ जना कविले कविता वाचन गर्छन्। सदैव समयप्रति ख्याल राख्ने इन्द्रेनी प्रकाशन, असमले तिनवटा सत्रको कार्यक्रम निर्दिष्ट समयमा सम्पन्न गर्दै उपस्थित महानुभावलाई बिरक्तिनुबाट जोगाएको थियो। 
 प्रस्तोता : कृष्णनील कार्की

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
लक्षमण प्रधान
२ महिना अगाडि

सुन्दर कार्यक्रमको सुन्दर रिपोर्टिङ रहेछ।

सम्बन्धित पोस्टहरू