घरदलान्को वार्षिकोत्सब सम्पन्न

लक्ष्मी रिजाल · मंसिर २८, २०८२ ८:४८ PM
Cover Image for News

मङ्सिर २७ झापा
बुद्धशान्ति र आसपासका क्षेत्रमा पृथक् शैलीमा  साहित्यिक अभियान सञ्चालन गर्ने घरदलान् साहित्यको ८५औं मासिक शृङ्खला तथा आठौँ वार्षिकोत्सव आज  अभियानका परिकल्पनाकार गणेश-दिब्या निरौलाको  घर दलान बुद्धशान्ति १ ,बुधबारे बजारमा सम्पन्न भयो ।
४० को दशकमा घरदलान अभियान सञ्चालनको प्रारम्भ गर्ने अग्रज सामाजिक व्यक्तित्व ध्रुव कोइरालाको अध्यक्षता र इलाम पशुवतिनगरमा बसेर सिमाना दुखिरहेको काव्य सृजना गर्ने कवि कविता राई "गाउँले" को प्रमुख आतिथ्यमा भव्य रुपमा कार्यक्रम भएको थियो ।
आयोजक परिवारका तर्फबाट भीम निरौलाले स्वागत गरेपछि सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षा संस्कृति र समाजको उन्नयनमा विशेष योगदान गर्ने  ज्येष्ठ नागरिक जय प्रसाद रसाइलीलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो । लोक र राष्ट्रिय गीत गायिका उषा कृष्ण (अधिकारी) लाई नगद पुरस्कार सहित घर दलान सङ्गीत सम्मान गरिएको थियो भने बुद्धशान्ति - २ निवासी कवि लक्ष्मी प्रसाद रिजाललाई बुद्धशान्ति वर्ष कवि घोषणा गर्दै सम्मानपत्र तथा भविका पुरस्कार प्रदान गरिएको थियो । अभियन्ता कवि प्रकाश न्यौपानेद्वारा आफ्ना मातापिताका नाममा स्थापित उक्त नगद पुरस्कार संस्थापक परिवारका तर्फबाट माता विमला न्यौपाने र कवि प्रकाश न्यौपानेका करकमलबाट प्रदान  गरिएको थियो ।
कवि गणेश दिव्य  निरौलाले आफ्ना पितामाताको नाममा नरप्रेम प्रतिष्ठान गठन गर्ने प्रस्ताव राख्दै आगामी वर्ष २०८३ देखि इलाम र झापामा बसेर साहित्य सृजना गर्ने स्रष्टालाई सम्मान सहित पुरस्कृत गर्न अक्षय कोष स्थपना हेतु  रू.एक लाखको चेक अभियानलाई हस्तान्तरण गरेपछि कविता वाचन सुरु भएको थियो ।

FB_IMG_1765637952398.jpg 85.32 KB


प्रारम्भमा सम्मानित प्रतिभा उषाकृष्णले  गीत र लक्ष्मी प्रसाद रिजालले कविता प्रस्तुत गर्नु भएको थियो त्यसपछि आठ जना बाल प्रतिभा सहित तिसभन्दा बढी स्रष्टाहरूले गीत,कविता ,गजल र हाइकू वाचन गर्नुभएको थियो । 
नौ वर्षदेखि ८० वर्षसम्मका कवि तथा गायकहरूको उपस्थिति  रहेको आजको कार्यक्रममा प्रकाश न्यौपाने , मोक्ष खतिवडा , देवीध्वज योन्जन , वसन्त तिंसिना हेमराज अधिकारी  पुष्प काफ्ले, शान्ता उप्रेती कविता राई लगायत ३० जना भन्दा बढी सर्जकहरूले विविध विषय,लय र शैली भएका रचना वाचन गर्नुभएको थियो । अन्त्यमा वरिष्ठ सञ्चारकर्मी कवि चन्द्र भण्डारीले कविता र भाषा संस्कृतिको महत्वका बारेमा प्रकाश पार्दै भाषिक विविधताको सौन्दर्य र मातृभाषा संरक्षणका बारेमा अभिमत प्रकट गर्नुभएको थियो । उहाँले समग्र कार्यक्रमको समीक्षात्मक टिप्पणी गर्दै घरदलान पूर्वी नेपालको गरिमामय स्रष्टा मञ्च रहेको विचार व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि कविता राईले सिमाना दुखेको कविता वाचन सहित इलाम र झापाका स्रष्टाहरूको अन्तरसम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष ध्रुव कोइरालाले भाषा साहित्यका बारेमा बौद्धिक जिज्ञासा राख्दै आगामी दिनमा घरदलान साहित्यको विकास र विस्तारमा सबैले सहकार्य गर्नुपर्ने विचार प्रकट गरेर  कार्य्क्रमको समापन गर्नुभएको थियो  ।

ट्यागहरू:
सहित्य literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।