गुवाहटीमा भारतीय नेपाली शब्दकोश निर्माण कार्यशाला सम्पन्न
‘नेपाली भाषा विकास मञ्च’को पहल तथा MIL&LS,GU and BPKF, Embassy of Nepal, New Delhi को सहयोगमा विगत जुन २९ देखि १ जुलाई २०२४ सम्म ‘भारतीय नेपाली शब्दकोश’ निर्माणार्थ ३ दिने कार्यशाला गुवाहटी विश्वविद्यालय असममा सम्पन्न भएको छ । कार्यशालामा भारत तथा नेपालका शब्दकोश विशेषज्ञहरूको उपस्थिति रहेको थियो। सन् २०२२ बाट भारतीय शब्दकोश निर्माण कार्यप्रति ‘नेपाली भाषा विकास मञ्च’ले निरन्तर प्रयास गर्दै आएको थियो । यो संस्थाले अहिलेसम्म असम र सि लिगुडीमा निकैवटा कार्यशाला सम्पन्न गरिसकेको छ । शब्द सङ्कलन र टङ्कण दुवै कार्य द्रुत गतिमा चलिरहेको छ। संस्थाका समन्वयक डा. खगेन शर्माको पारदर्शिता तथा नेपालका कोश विशेषज्ञहरूको मार्गदर्शन अनि भारतीय विद्वत्वर्गको जाँगर र गरौँ भन्ने भावना यस कार्यका ऊर्जा हुन्।
भारतीय विद्वान्हरू – प्रोफेसर प्रतापचन्द्र प्रधान, डा. खगेन शर्मा, डा. योगेश खाती, डा. राजकुमार छेत्री, डा. इन्दुप्रभा देवी, डा. दशरथ खरेल, ज्ञानबहादुर छेत्री (अकादमी पुरस्कार प्राप्त), पुष्पधर शर्मा (अकादमी पुरस्कार प्राप्त), डा. सृजना शर्मा, डा.गायत्री नेवार, रुद्र बराल, ढाकाराम काफ्ले, धकमान श्रेष्ठ तथा लक्ष्मण अधिकारी सहित अन्य धेरै वौद्धिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालबाट – डा. हेमनाथ पौडेल, डा. यज्ञेश्वर निरौला, डा. मतिप्रसाद ढकाल आदि विशेषज्ञहरूको उपस्थिति रहेको थियो । निर्माणाधीन शब्दकोशमा अहिले नेपाली जनजिब्रोले पचाएका भारतीय परिप्रेक्ष्यका स्थानीय शब्दहरूको सञ्चयनको कार्य पनि द्रुत गतिमा चलिरहेको छ । अब डा. खगेन शर्माको अथक प्रयासमा विशेषज्ञहरूको थप सहयोगमा निकट भविष्यमा सो कार्य सम्पन्न हुने कुरा बक्ताहरुले ब्यक्त गरेको कुरा असमबाट साहित्यकार लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।