गणेशप्रसाद खतिवडाको "नुनको जोहो" विमोचन सम्पन्न

खगिन्द्रा खुसी · पौष १२, २०८२ ७:४६ PM
Cover Image for News

आज राजधानीको अनामनगरमा सम्पन्न एक कार्यक्रममा स्रष्टा गणेशप्रसाद खतिवडाको यात्रासंस्मरणात्मक कृति "नुनको जोहो"को विमोचान भएको छ । सोलुखुम्बुका स्रष्टा गणेशप्रसाद खतिवडाद्वारा लिखित उक्त कृतिको लोकार्पण  अनामनगरमा रहेको डालो रेस्टुरेन्टमा गरिएको थियो । नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईँले सभापतित्व तथा वरिष्ठ आख्यानकार महेश विक्रम शाहको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक हेरम्बराज बास्तोलाले पुरानो समयदेखि अहिलेको तीव्र परिवर्तनसमेत देखेको पुस्तालाई छक्क पुस्ता नामाकरण गर्दै नुनको जोहो छक्क पुस्ताले सिर्जना गरेको राम्रो कृति रहेको बताउनुभयो । त्यसै पुस्तकका अर्का समीक्षक प्रतीक ढकालले कृति खासगरी पहाडी जीवन झेलेकाहरूका लागि आफ्नै भोगाइ रहेको भान पर्नेगरि लेखिएको बताउनुभयो । साथै ढकालले कृतिको आकार सानो भए पनि यसले पहाडी जीवन, संस्कृति, लोकभाका, भूगोल, संघर्षका कथा, नेपाली छन्द परम्परा लगायत विविध विधा समेटेको हुनाले साथै लेखकले इमान्दार बनेर कुनै कुरा नढाँटी लेख्नाले पनि कृति सफल रहेको चर्चा गर्नुभयो । 

bhawani.jpg 56.51 KB
शुभकामना मन्तव्य दिने क्रममा साहित्यकार डा. रेणुका थापा 'सोलु'ले आफूले भोगेको जीवन नै पुस्तकमा आएको र आफूले उक्त कुरा लेख्न नसकेकोमा पछुतो भएको कुरा उल्लेख गर्दै पाठकलाई यस्तो लाग्नु नै लेखकको सफलता भएको कुरा उल्लेख गर्नुभयो भने साहित्यकार शान्ति शर्माले नुनको जोहो पुस्तक आफ्नै पुस्तक जस्तो लागेको बताउँदै छिटै अर्को पुस्तक ल्याउन लेखकलाई अनुरोध गर्नुभयो । 

प्रमुख अतिथि शाहले पुस्तक आफूलाई मन परेको र यसलाई उपन्यासको रूपमा पुनर्लेखन गर्नसके अझ राम्रो हुने सुझाव दिनुभयो । समाजकी महासचिव कवि तथा नियात्राकार भवानी खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको "नुनको जोहो" सार्वजनिकीकरण कार्यक्रममा अग्रज साहित्यकार कोषराज न्यौपाने, प्रल्हाद पोखरेल, युवराज नयाँघरे, रूपक अलङ्कार, नारायण निरासी, घनेन्द्र ओझा, रत्नविरही घिमिरे, चिरञ्जीवी सिग्देल, सिकारु राम, मुरारी सिग्देल लगायतका साहित्यकार, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको समाचार स्रष्टा भवानी खतिवडाबाट प्राप्त भएको छ ।

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।