गजलले तातेको उर्लाबारी साँझ
मंसिर १५ गते शनिबारको साँझ मोरङको उर्लाबारीमा गजलकारसँग भावनाका रंग कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च उर्लाबारीद्वारा संचालित सामुदायिक पुस्तकालयको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा मोरङ, झापा, र सुनसरीका ख्यातिप्राप्त पाँच गजलकारको प्रस्तुति रहेको थियो । उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिको प्रांगणमा भएको कार्यक्रममा स्थानीय गजलप्रेमीहरूको उल्लेखनीय उपस्थितिलाई प्रख्यात गजलकारहरुको प्रस्तुतिले तताएको थियो ।
गजल सुन्न र साहित्यिक वातावरणको स्वाद लिन आएका श्रोताहरू गजलकार कल्पना आचार्य कुमारी चेम्जोङ, राधा सुवेदी, खगेन्द्र खुशी, र उर्लाबारीकी मुना आत्रेयका सशक्त रचनाले मन्त्रमुग्ध भएका थिए । उर्लाबारी नगरपालिका वडा नं ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष नारदमणि नेपालको अध्यक्षता रहेको थियो । साहित्यिक क्षेत्रलाई माया गर्ने व्यक्तित्वहरू मिश्र बैजन्ती, कृष्ण उदासी, समाजसेवी जय धर्म आचार्य, बालचन्द्र सुब्बा , गजेन्द्र दंगाल लगायतको उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो । साहित्यिक विकास र सांस्कृतिक सौहार्द प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले गजलकार र गजलप्रेमीहरूबीचको सम्बन्धलाई गाढा बनाउनुका साथै स्थानीय स्तरमा साहित्यप्रतिको रुचि बढाएको कार्यक्रमका प्रमुख अतिथि चिन्तामणी पौडेलले बताए । उर्लाबारीमा गजल साँझको यो प्रयासले साहित्यिक गतिविधिको नयाँ अध्याय थपेको र भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने जोड साहित्यकार कृष्ण उदासीको थियो । ढुन्डुराज भटराईले संचालन गरेको उक्त कार्यक्रममा स्थानीय कलाकार अच्युत अधिकारी लगायतले गीत समेत गाएका थिए ।