भारतका ९ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’द्वारा अलङ्करण गरिने
झापा ५ फागुन /भारतका ९ जना प्राध्यापकलाई प्रतिष्ठित ‘नइ प्रज्ञा पुरस्कार’द्वारा अलङ्करण गरिने भएको छ।
नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन ,अनुसन्धान तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा विशिष्ट योगदान पुर्याएको भन्दै भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो।
एकेडेमीका अनुसार पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। पुरस्कारबाट प्रा.डा.कविता लामा,प्रा.डा.कृष्णराज घतानी,डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान,डा.दैवकीदेवी तिम्सिना,प्रा. डा.पुष्प शर्मा,डा.राजकुमार क्षेत्री,प्रा.डा.सञ्जय राई तथा डा.अरुणा राई सम्मानित हुनुहुने भएकाे छ ।
एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
एकेडेमीका पदाधिकारीहरूका अनुसार यो पुरस्कार केवल औपचारिक सम्मान मात्र नभई शैक्षिक उत्कृष्टताको कदर गर्ने प्रयास हो। देशमा बौद्धिक नेतृत्वलाई प्रोत्साहन दिन र अनुसन्धानमूलक शिक्षालाई सुदृढ बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ।पुरस्कार वितरण कार्यक्रम एक विशेष समारोहबीच आयोजना गरिनेछ,जहाँ शिक्षाविद्,अनुसन्धानकर्ता तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ र सम्मानित प्राध्यापकहरूको योगदानबारे विस्तृत चर्चा गरिनेछ।
नइ एकेडेमीले आगामी २०८२ चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने जनाएको छ।