अन्तर्राष्ट्रिय बुकर पुरस्कारको अन्तिम ६ पुस्तकको सूची सार्वजनिक

दिलिप घिमिरे · चैत २०, २०८२ १०:०८ AM
Cover Image for News

अन्तर्राष्ट्रिय बुकर पुरस्कारको अन्तिम ६  पुस्तकको सूची सार्वजनिक

झापा२०चैत/अन्तर्राष्ट्रिय बुकर पुरस्कार-२०२६:अन्तिम ६ पुस्तकको सूची सार्वजनिक गरिएको छ ।
विश्व साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक  पुरस्कार हो बुकर पुरस्कार।यस वर्षको सूचीमा इतिहासका कठीन मोड, क्रान्ति,पहिचानको खोजी र मानवीय संवेदनाका गहिरा कथा समेटिएका ६ उत्कृष्ट उपन्यासले स्थान बनाउन सफल भएका छन् ।
अंग्रेजी बाहेकका अन्य भाषामा लेखिएका,बेलायत र आयरल्यान्डमा अनुवाद भई प्रकाशित भएका यी कृतिहरूले विश्वभरका पाठकको ध्यान खिचेका छन् ।
यस वर्षको छनोट समितिकी अध्यक्ष तथा लेखिका नतासा ब्राउनले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘यी पुस्तकले गत शताब्दीका विभिन्न कालखण्डलाई जीवन्त बनाएका छन् । यिनमा हृदयविदारक पीडा, क्रूरता र एक्लोपन भए तापनि, अन्त्यमा यसले पाठकलाई आशा र ऊर्जा प्रदान गर्दछन् । यी यस्ता अविष्मरणीय पात्र हुन् जसलाई पाठकले बारम्बार सम्झिरहनेछन् ।’
यस पटकको ‘सर्टलिस्ट’ मा महिलाहरूको बलियो उपस्थिति देखिएको छ । ६ मध्ये ५ जना लेखक र ४ जना अनुवादक महिला हुन् ।
द नाइट्स आर क्वाइट इन तेहरान : शिदा बाज्यारद्वारा लिखित र रुथ मार्टिनले जर्मन भाषाबाट अनुवाद गरेको यो उपन्यास इरानी क्रान्ति (१९७९) देखि सन् २००९ को ‘ग्रीन रिभोलुसन’ सम्मको कथा हो ।
सी हू रिमेन्स : रेने काराबासको यो उपन्यास अल्बानियाको ग्रामीण समाजमा आधारित छ।यो पितृसत्तात्मक समाज र आत्म–पहिचानको एउटा मार्मिक कथा हो ।
द डाइरेक्टर : ड्यानियल केलम्यानद्वारा लिखित यो उपन्यास अस्ट्रियाली फिल्म निर्माता जी डब्लु पाब्स्टको जीवनमा आधारित ऐतिहासिक आख्यान हो ।
अन अर्थ एज इट इज बेनिथ : ब्राजिलकी आना पाउला माइयाको यो ‘होरर’ उपन्यास एउटा दुर्गम जेलको कथा हो।
द विच : फ्रान्सेली लेखिका मारी एनडियाईको यो उपन्यास सन् १९९६ मा प्रकाशित पुरानो कृति हो । तर यसको जादुमयी र रहस्यमय कथाका कारण यसले यस वर्ष पुन: चर्चा कमाएको छ ।
ताइवान ट्राभलग : याङ सुवाङ–जीको यो उपन्यास सन् १९३० को दशकमा जापानको नियन्त्रणमा रहेको ताइवानको यात्रा वर्णन हो । 
विजेताको घोषणा आगामी मे १९ मा गरिनेछ । विजेता लेखक र अनुवादकले संयुक्त रूपमा ५०हजार पाउन्ड पुरस्कार राशी प्राप्त गर्ने छन् । गत वर्ष भारतका मुस्लिम महिलाको कथा समेटिएको ‘हार्ट ल्याम्प’ ले यो पुरस्कार जितेको थियो ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।