अमेरिकामा “मनदेखि मनसम्म” कार्यक्रम सम्पन्न

ह्यारिसबर्ग, फेब्रुअरी ८ – अमेरिकाको ह्यारिस्वर्गमा प्रेम दिवसको अवसर पारेर कार्यक्रम “मनदेखि मनसम्म” सम्पन्न भएको छ । विश्व भूटानी साहित्यिक संगठन(GBLO) को आयोजनामा मम्स् ममको मझेरीमा आयोजित सो कार्यक्रममा ह्यारिसवर्ग सेरोफेरोका कवि स्रष्टा तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको कुरा अमेरिकाबाट आयोजक संगठनका महासचिब पातलो अन्तरेले जानकारी दिएका छन् । कवि तथा गीतकार शेखर कोइरालाद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा उपस्थित स्रष्टाहरुले प्रेमील रचनाहरु वाचन गरेर कार्यक्रमलाई प्रणयशील बनाएका थिए भने गायक तथा संगीतकार मनोज राईले प्रेमील गीत गाएर कार्यक्रमलाई रोमान्चकता थपेका थिए ।
गीतकार अगम गुरूङले उपलब्ध गराएको कार्यक्रम स्थलमा उपस्थित गुरुङले कार्यक्रममा मन्तव्य राख्ने क्रममा “यस्ता कार्यक्रम गर्न मेरो यो प्रांगण सँधै खाली छ।” भनेर स्रष्टाहरुमा थप हौसला थपेका थिए । विश्व भूटानी साहित्यिक संगठन GBLO का प्रतिनिधिहरूले कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता साहित्यिक तथा सांगीतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । साहित्य, संगीत, र प्रेमको यो संगम ह्यारिसबर्गका नेपाली समुदायका लागि अविस्मरणीय र यादगार बनेकोमा साहित्यकार अन्तरेले खुशि ब्यक्त गरेका छन् ।




