अर्जुनधारामा रामायण वाचनको भिडियो लोकार्पण

१२ असार २०८१ । आज झापाको पवित्र तीर्थस्थल अर्जुनधारा धाममा साङ्गीतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । गायक तथा कथावाचक पं.याम भण्डारीद्वारा स्वरवद्ध गरिएको भानुक्तीय रामायणको बालकाण्ड लोकार्पण गरिएको उक्त कार्यक्रममा धर्म दर्शन फाउण्डेसनका अध्यक्ष तथा प्रखर कथावाचक पं.कुवेर सुवेदीको सभाध्यक्षता रहेको थियो । विवेकाश्रम चारपानेका अध्यक्ष पं.छन्दुराम भण्डारीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अग्रज स्रष्टा÷समालोचक कोमल प्रसाद पोख्रेल, डा.पुण्यप्रसाद सिग्देल, पं.लक्ष्मी खतिवडाको विशेष आतिथ्य रहेको थियो । प्रसिद्ध सङ्गीतकार चण्डीप्रसाद काफ्लेको सङ्गीतमा हारमुनियम, सीतार, गीतार, तबला, ढोलक, बाँसुरी सहित एक दर्जन वाद्यवादनको प्रयोग गरी आधुनिक लयमा गाइएको निकै आकर्षक तथा श्रुती मधुर रामायणको श्रव्य सामग्रीलाई प्रमुख अतिथिको बाहुलीबाट प्रोजेक्टरका माध्यमबाट लोकार्पित गरिएको थियो ।
सजिलो तरिकाले बालबालिका, बृद्धबृद्धा तथा दृष्टीविहीनहरुले पनि सुन्न र बुझ्न सकिने हुँदा यस्ता प्रकारका सामग्रीले अहिलेको समयमा अत्यन्त महत्व राख्ने कुरा समेत समालोचक कोमल प्रसाद पोख्रेलले राख्नुभएको थियो ।
पं.विष्णुदेवद्वारा सन्चालन गरिएको कार्यक्रममा स्रष्टा खगिन्द्रा खुसीले स्वागत मन्तव्य राखेकी थिइन् । पं.याम भण्डारीद्वारा मन्तव्यका क्रममा अध्यात्मको रसास्वादन आम नेपालीले गर्न सक्नुहोस् भन्ने उद्देश्यले तयार पारिएको यो फरक प्रयोगको भिडियो यही असार २९ गते विहानदेखि धर्म दर्शन युट्युब च्यानल तथा याम भण्डारीको युट्युब च्यानलबाट हेर्न सकिने कुराको जानकारी समेत गराइएको थियो भने कार्यक्रमको समापनको क्रममा सभाध्यक्ष पं.कुवेर सुवेदीद्वारा वाद्यवादनहरुका साथमा प्रत्यक्षरुपमा याम भण्डारीको आवाजमा रामायण वाचन कार्यक्रम राखेर घण्टौँसम्म रामायण सुन्ने योजनाको जानकारी गराउँनु भएको थियो ।




