योगनाथ बास्तोला लघुकथा सम्मान दिलिप राई सगरलाई प्रदान गरिने

दिलिप घिमिरे · फागुन १२, २०८१ ८:२३ PM
Cover Image for News

 फागुन १२गते /हाम्रो लघुकथा केन्द्र, नेपालले साहित्यकार दिलिप राई ‘सगर’लाई ‘योगनाथ बास्तोला लघुकथा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ । 

अध्यक्ष लता केसीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सगरलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेको हो । 

‘योगनाथ बास्तोला लघुकथा सम्मान’ माछापुच्छ्रे गाउँपालिका, लाहाचोक कास्कीका कृष्णप्रसाद बास्तोलाले आफ्ना स्वर्गीय पिता योगनाथ बास्तोलाको नाममा स्थापना गरेका हुन् । यो सम्मान मोफसलमा बस्ने लघुकथा सर्जकलाई नियमित रूपमा प्रदान गरिदै आएको केन्द्रले जनाएको छ । 

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९,वैराङमा जन्म भई हाल मोरङ उर्लाबारीमा बसोवास गर्दै आइरहेका साहित्यकार सगरका ‘त्यही मायालु ठूली’ गीतसङ्ग्रह–२०५७, ‘नियति’ लघुकथा सङ्ग्रह–२०६९, ‘सिम्मा’ केस्रासङ्ग्रह–२०७१, ‘बाराङ’ लघुकथासङ्ग्रह–२०७८’, ‘साईमा स्यामुना’ गीतसङ्ग्रह–२०८१’ लगायत फुटकर रुपमा पनि प्रशस्तै रचना प्रकाशित छन् भने उनले लेखेका  दर्जनौं गीत रेकर्डिङ भएर बजारमा आइसकेका छन्। 

मोफसलमा बसेर निरन्तर साहित्य साधनमा लागि रहने साहित्यकार सगरका लागि काठमाडौंबाट प्राप्त हुने यो पहिलो पुरस्कार हो । यसअघि उनले ‘जीवन स्मृति प्रतिष्ठान पुरस्कार झापा’, ‘कन्चनजङ्घा क्लब पुरस्कार, मोरङ’, जस्ता स्थानीय पुरस्कार र ‘श्रम साप्ताहिक पुरस्कार, मलेसिया’, ‘अनेसास सम्मान–२००८, मलेसिया’, ‘आदिवासी जनजाती महासंघ सम्मान–२०१९’, ‘उर्लाबारी गजल मन्च सम्मान–२०६५’, ‘नेपाली साहित्य समाज सम्मान– २०८१’ जस्ता सम्मानहरू प्राप्त गरिसकेका छन् ।

पूर्वका हरेक कार्यक्रमहरुमा सगरको उपस्थिति रहदै आएको छ ।भाषा,साहित्य ,कला र आफ्नो पहिचान भनेपछि दिलोज्यान दिएर लाग्ने सगरको बिशेषता नै हो।

हाम्रो लघुकथा केन्द्र, नेपालले आफ्नो पाँचौँ स्थापना दिवसको अवसर पारेर दुई श्रष्टालाई सम्मान गर्न लागेको हो । अर्का श्रष्टा ललितपुर, झम्सिखेल निवासी श्रीओम श्रेष्ठ ‘रोदन’ लाई ‘लघुकथा केन्द्र सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । 

जसअनुसार श्रीओम श्रेष्ठ ‘रोदनले एघार हजार एक सय एघार रूपैयाँसहित सम्मानपत्र प्राप्त गर्नेछन् । यो सम्मान संस्थाको आजीवन सदस्यहरुबाट सङ्कलित रकमबाट स्थापित अक्षयकोषबाट प्रदान गर्ने गरिएको आयोजकले जनाएको छ ।
 यस्तै, दिलिप राई ‘सगर’लाई पाँच हजार एक सय र सम्मानपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
 
२०८१ चैत्र २ गते शनिबार काठमाडौँ बानेश्वरस्थित रोयल इभेन्टसमा एक कार्यक्रमका बीच उक्त  दुवै पुरस्कार प्रदान गरिने जनाइएको छ ।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू