स्रष्टा प्रकाश भट्टराईको ‘गुनासो’ बेलबारीमा सार्वजनिक
झापा १७ माघ/ स्रष्टा प्रकाश भट्टराईको ‘गुनासो’ गीतसङ्ग्रहको शुक्रबार बेलबारीमा सार्वजनिक गरिएको छ।
कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक भएको हो।
कार्यक्रममा कोसी साहित्य-कला परिषद् नेपालका केशु विरहीको अध्यक्षता,प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ,सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने,बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला,झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक,नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे,आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली,रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायतका साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।साथै उक्त कार्यक्रममा साहित्यका अतिरिक्त सामाजिक सङ्घसंस्थामा संलग्न व्यक्तित्वहरूको समेत उपस्थिति थियो।
कृतिका लेखक भट्टराईले निकै मेहनतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउँदै यस कार्यमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । साथै सभाध्यक्षको मन्तव्य राख्तै कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै प्रकाश भट्टराई सार्वजनिक गर्न सकेकामा खुसीसमेत व्यक्त गरे।
लोकार्पित कृतिमाथि प्रा.डा.भीम खतिवडा र कृष्ण उदाशीले समीक्षा प्रस्तुत गरेका थिए।कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै कवि तथा गीतकार उदाशीले प्रकाश भट्टराईले यस कृतिमार्फत गीत विधामा एउटा नयाँ मानकको सुरुआत गरेको बताएराजमार्गको प्रसङ्ग कोट्याउँदै उनले भट्टराईको यस कृतिले गीतको नयाँ राजमार्ग निर्माण गरेको बताए।
कार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साङपाङ,यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एक एकओटा गीत गाएका थिए।संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेल‘नवशिला’को रहेको थियो ।