सुरभिमा पुस्तक लोकार्पण र आख्यान वाचन

खगिन्द्रा खुसी · भदौ १५, २०८१ १०:१३ PM
Cover Image for News

काडमाडौँ, १५ भदौ । सुरभि साहित्य प्रतिष्ठानको १६४ औँ आख्यान वाचन कार्यक्रम तथा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको लघुकथा सङ्ग्रह ‘सावधान’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ कथाकार तथा पत्रकार विजय चालिसेको प्रमुख आतिथ्य रहेको थियो । साहित्यकार एवं पूर्व राजदूत रमेशप्रसाद खनालको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, साहित्यकार भगतदास श्रेष्ठ, कथाकार बखतबहादुर थापा, लघुकथाकार खेमराज पोखरेल, समाजसेवी गोपाल बराल, पत्रकार निर्मल अर्याल, मधुसूदन प्रसाद घिमिरे लगायतको आतिथ्यता तथा विशिष्ट साहित्यकार, कथाकार, लघुकथाकारहरू उपस्थिति रहेको थियो । 

photo
प्रमुख अतिथि विजय चालिसे लगायत अन्य अतिथिहरूद्वारा  संयुक्तरूपमा पुस्तक लोकार्पण गरिएको पुस्तकको समीक्षा लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले गरेका थिए । प्रमुख अतिथिले समीक्षकले गरेको समीक्षाको सराहना गर्दै कथाकार परशुराम पराशरलाई बधाई तथा शुभकामना दिएका थिए भने मन्तव्यका क्रममा विदेशीको दाँजोमा नेपाली लघुकथालाई ज्यादै छोटा लघुकथा भन्न मिल्ने र यो लेख्न पनि कठिन हुने कुरा बताएका थिए । साथमा कस्ता प्रकारका र कतिसम्म शब्द भएकालाई लघुकथा भनिन्छ भन्ने कुराको यकिन नभएको बताउँदै रुसी लघुकथा १३५ पृष्ठसम्मको रहेको समेत जानकारी गराएका थिए  । विशिष्ट अतिथि रमेशप्रसाद खनालले लघुकथाको संरचनाका बारेमा बताउँदै नेपाली लघुकथालाई अङ्ग्रेजीमा के भन्ने होला भनेर कुरा उठाउँदै अङ्ग्रेजीका सर्ट–स्टोरी भनेका नेपाली लघुकथाभन्दा लामा हुने भएकाले यिनलाई सर्ट–सर्ट–स्टोरी भन्न सकिने धारणा व्यक्त गरेका थिए । यसै गरी अन्य वक्ताहरूमा विमल अर्याल, शीतल गिरीले समेत लोकार्पित कृति ‘सावधान’ लघुकथाको क्षेत्रमा विशिष्ट रहेको धारणा व्यक्त गरेका थिए । 

    प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रममा पहिले कथावाचन भएको थियो । दीपक लोहनी, कात्यायन, ऋचा, रमेश भट्टराई पुजारी, खेमराज पोखरेल, मधुसूदन प्रसाद घिमिरे, भारद्वाज मित्र, रामचन्द्र खतिवडा, गङ्गाप्रसाद भेटवाल, गोपाल बराल, शैलेन्द्र श्रेष्ठ, निर्मलरमण पराजुली र लीलाराज दाहालले कथा, लघुकथा र निबन्ध वाचन गरेका थिए । 

दिउँसो १ बजे सुरु भएको यो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेद्वारा गरिएको कुरा काठमाडौँबाट कथाकार रामकुमार पण्डितले जानकारी दिएका छन् । 

ट्यागहरू:
सहित्य कविता लघुकथा samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू