साहित्यकार सूब सेनका पाँच कृतिहरु एकैदिन लोकार्पण

खगिन्द्रा खुसी · माघ २४, २०८२ ७:०२ PM
Cover Image for News

झापा, माघ २३ । साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण भएका छन् । शुक्रबार राजधानीमा दायित्व वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सो कृतिहरु लोकार्पण गरिएको हो । साहित्यकार भागिरथी श्रेष्ठको सभाध्यक्षता तथा पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका साथमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, समीक्षकहरू प्रा.डा. रामदयाल राकेश, ठाकुर शर्मा भण्डारी, प्रा.डा. भागवत ढकालले पालैपालो कृतिहरू लोकार्पण गरेका थिए। 

कार्यक्रममा रामप्रसाद पन्तले 'व्यक्ति एक दृष्टिमा अनेक' टिप्पणी सङ्ग्रहको सूत्रसमीक्षा प्रस्तुत गरेका थिए भने प्रा.डा. रामदयाल राकेशले 'शिवश्याम' उपन्यासको, ठाकुर शर्मा भण्डारीले 'असाधारण बुवामुवाको साधारण छोरो' संस्मरणको, प्रा.डा. भागवत ढकालले 'हस्ताक्षर भूमिकासङ्ग्रह'को र पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेतीले 'उमा-गौरी' सामाजिक उपन्यासको समीक्षा गरेका थिए। 

६५ वटा भन्दा बढी कृतिहरू प्रकाशित गरिसकेका कृतिकारले ८६ वर्षको उमेरमा पाँच वटा कृति प्रकाशन गरेका हुन् । 

राष्ट्रगानबाट शुरू भएको कार्यक्रममा नेपाल सरकारका सहसचिव हुमकला पाण्डेबाट स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो। सुनीता सेनले अतिथिहरूलाई माला अर्पण गरेकी थिइन् भने लेखकपुत्र सुयशप्रताप सेन, प्रा. हेमन्तशमशेर राणाले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। 

ट्यागहरू:
सहित्य news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।