झापामा स्रष्टा जस योन्जनको सम्मान

दिलिप घिमिरे · माघ २०, २०८१ ६:४५ PM
Cover Image for News

झापामा स्रष्टा जस योन्जनको सम्मान 

                   -केशव भट्टराई 

"बोलाउँ भने तिमीलाई बात लाग्ने डर 
 नबोलाउँ त तिम्रो प्रेमको पाप लाग्ने डर "।। 

यो कालजयी गीतका सर्जक डाक्टर जस योन्जन प्यासी आइतबार झापामा सम्मानित हुँदा अझै सरल रुपमा प्रस्तुत भए ।
 भारतको दार्जिलिङमा जन्मिएका ७७ वर्षीय प्यासी भद्रपुरमा श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कारबाट पुरस्कृत हुँदै गर्दा विगत सम्झन पुगे ।
 आफ्नो समकालीनहरू बीचमा सधैं आफूलाई सिकारु सर्जकको कित्तामा उभ्याएर आत्मप्रशंसा गर्नेहरुलाई गतिलो झापड पनि दिए । मेचीपारीबाट काकरभिट्टामा आएर कविता / गीत सुनाएका विगतका ती दिनहरुलाई स्मरण गर्दै झापाली सर्जकहरुलाई उनले प्रेम बाँडे। राजधानी काठमाडौँमा बिताएका दिनहरुलाई संघर्षको गोरेटोमा चालेका मेहनती पाइलाको संज्ञा दिए ।
 कहिल्यै पुरस्कारका लागि लेखेनन् उनले र कसैलाई अनुनय विनय पनि गरेनन् ।

फोटो
सम्मान र पुरस्कार समर्पणका लागि ज - जसले जहाँजहाँ सम्झिए, आफूले आफैंलाई एकपटक तौलिए, अनि उपयुक्त पात्र र स्थानमा मात्रै अनुमति प्रदान गरे।
लेखनाथ पुस्तकालयले आयोजना गरेको श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार समर्पण समारोहमा पनि उनी भन्दै थिए - के म यो पुरस्कार ग्रहण गर्न उपयुक्त छु ?

साहित्य कला र संगीत जीवनका लागि हो। सिर्जना शक्तिलाई पुरस्कारको तुलनामा राखेर मूल्याङ्कन गर्ने परिपाटी घातक हुने सर्जक डाक्टर योन्जनको बुझाइ छ।
पछिल्ला दिनमा चिकित्सकको सामान्य निगरानीमा रहँदै आएका जस योन्जन प्यासी नेपाली साहित्य र संगीतको क्षेत्रमा नविन पुस्तालाई अझै उत्साह भर्नुपर्ने आवश्यकता महसुस गर्छन्।
     ५१ हजार नगद राशिको पुरस्कार समर्पण गर्न आयोजित कार्यक्रममा उनको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै श्रष्टा चन्द्र भण्डारीले जस योन्जन प्यासीको सम्मान सिंगो नेपाली गीतसंगीतको सम्मान रहेको उल्लेख गरे ।
फोटो
अर्का सर्जक डा. बद्रीविशाल पोखरेलले जस योन्जनका सिर्जनाले सदियौ सम्म नेपाली सांगीतिक आकाशमा प्राण भरिरहने दाबी गरे। 
     कार्यक्रमको अध्यक्षता गरिरहेकी कवि खगिन्द्रा खुसीले उनको गीत पस्किँदा सर्जक जस योन्जन मुस्कुराइरहेका थिए। 
   झापाका लब्ध प्रतिष्ठित सर्जक ,श्रष्टा र साहित्य सेवीहरूको उपस्थिति रहेको कार्यक्रम ऐतिहासिक भएको सहभागीहरूको प्रतिक्रिया छ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।