GEP अनलाइन नेपाली कक्षाको नतिजा सार्वजनिक, २०२६ सत्रका लागि भर्ना खुला
शाउन २७, झापा । GEP को शैक्षिकसत्र २०२६का लागि नयाँ भर्ना तथा दर्ता प्रक्रिया सुरु भएको छ । ग्लोबल भूटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित GEP अनलाइन नेपाली कक्षा २०२५ को परीक्षाफल सार्वजनिक तथा विद्यार्थीहरूलाई नतिजा हस्तान्तरण कार्यक्रममा नयाँ भर्नाको जानकारी गराइएको हो ।
गत शाउन २४ गते आइतबार नेपाली समय अनुसार विहान ६ बजे अर्थात् अगस्ट ९, २०२६मा अमेरिकी समय अनुसार बेलुका ८:३० बजेदेखि जुममार्फत सुरुवात गरिएको कार्यक्रममा २०२५को परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । विश्वका विभिन्न स्थानमा रहेका विद्यार्थी, अभिभावक, शिक्षक, GBLO का पदाधिकारी तथा साहित्यिक–सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको सो कार्यक्रम जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा GBLO का कोषाध्यक्ष शेखर “काकु” ले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन GBLO का महासचिव “दियालो” सुसन माझी ले गर्नुभएको थियो । जिबिएलओका अध्यक्ष पातलो अन्तरेले जिइपीको सुरुवातदेखिका गतिविधि, यसका उद्देश्य तथा आगामी योजनाका बारेमा जानकारी दिनुभएको थियो । शिक्षकहरू खगेन्द्रा खुसी, रिमा श्रेष्ठ तथा लोकनाथ खनाल ले विद्यार्थीहरूको सिकाइ अनुभव तथा प्रगतिबारे चर्चा गर्दै परीक्षाफल सार्वजनिक गर्नुभएको थियो। शिक्षक लोकनाथ खनाल विगत सात वर्षदेखि GBLO को नेपाली भाषा शिक्षण अभियानमा निरन्तर आबद्ध रहँदै आउनुभएको छ ।
GEP ले प्रवासमा रहेका नेपालीभाषी बालबालिकालाई नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले अनलाइन माध्यमबाट नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमकै क्रममा GEP को नयाँ वेबसाइट ourgep.org समेत सार्वजनिक गरिएको छ। आइ.टी. प्रतिनिधि पुष्कर धिताल ले वेबसाइट सार्वजनिक गर्दै GEP को शैक्षिक गतिविधि, सूचना तथा विद्यार्थी दर्ता प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वेबसाइटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा साहित्यकार धर्मेन्द्र तिम्सिना “क्षितिज” ले प्रवासमा नेपाली भाषा तथा साहित्यको संरक्षण र प्रवर्द्धनका लागि GBLO र GEP ले गरिरहेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समेत साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि NP Koirala ले शिक्षा जीवनभर चलिरहने सिकाइ र सिकाउने प्रक्रिया भएको उल्लेख गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा आयोजकलाई शुभकामना दिनुभयो ।
GEP का पूर्व विद्यार्थी ईसान धिताल ले नेपाली भाषामै मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने ६ वर्षीया विद्यार्थी कृयाना फूयाल को विशेष प्रस्तुतिले कार्यक्रममा थप उत्साह थपेको थियो।
कार्यक्रममा OHRC का अध्यक्ष प्रेम खनाल, क्रियामाण फाउन्डेसनका सीईओ तथा कवि भरत तिम्सिना, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष नारद आचार्य “सुदामा”, गायक तथा संगीतकार मनोज राई, साहित्य परिषद् भुटानका सदस्य भीम अधिकारी, साहित्यकार निशा पाण्डे लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व GBLO का संस्थापक अध्यक्ष तथा GEP का प्रमुख संस्थापक डेन्जोम् साम्पाङ ले गर्नुभएको थियो। समापन मन्तव्यमा उहाँले “भाषिक एकता भन्दा ठूलो शक्ति अन्त कतै हुन सक्दैन भन्ने उदाहरण हामी नै हौं” भन्दै नेपाली भाषा र संस्कृतिको संरक्षणमा सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो।
आयोजक GBLO ले आगामी GEP सत्रलाई अझ प्रभावकारी, सिर्जनात्मक तथा प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, विश्वभर रहेका नेपालीभाषी अभिभावकहरूलाई आफ्ना बालबालिकालाई GEP २०२६ को नयाँ सत्रमा सहभागी गराउन आग्रह गरिएको छ।